मकवानपुर । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको आरोपमा एक ट्याङ्कर चालकसहित चार जना पक्राउ परेका छन्।
आज साँझ करिब ४:३० बजे नेपाल आयल निगम, अमलेखगंजबाट थानकोट, काठमाडौंतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्करबाट पेट्रोल निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त ट्याङ्कर मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि. मा रोकिएर अवैध रूपमा पेट्रोल झिक्ने कार्य भइरहेको बेला जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ट्याङ्कर चालक र उक्त पेट्रोल पम्पमा कार्यरत तीन जना कर्मचारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्










