हेटौँडा । हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपिएस)बीच हेटौँडालाई महिलामैत्री र जलवायुप्रतिरोधी सहरका रूपमा विकास गर्न सहकार्य गर्ने सम्झौता भएको छ। ‘सिटिज फर वुमन : नेपालमा समावेशी र जलवायुप्रतिरोधी सहरीकरण’ शीर्षकमा गरिएको उक्त सम्झौतामा दुवै पक्षका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार युएनओपिएसले उपमहानगरलाई १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ। सो परियोजनामा हेटौँडा उपमहानगरपालिकाले पनि ३० देखि ५० प्रतिशतसम्म लागत साझेदारी गर्नेछ।
चार वर्षसम्म सञ्चालन हुने यो परियोजना युरोपेली संघ र फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा युएनओपिएस, युएन–ह्याबिटाट र सिटिज एलायन्सले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्।
परियोजनाको लक्ष्य तीव्र सहरीकरण र जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्नुका साथै महिलालगायत संवेदनशील समुदायलाई नगर योजना प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउने रहेको छ। यसअन्तर्गत लैंगिक उत्तरदायी र जलवायुप्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमा सहयोग पुर्याइनेछ।
सम्झौता हस्ताक्षर समारोहमा नगरप्रमुख मीनाकुमारी लामाले परियोजनाले हेटौँडाको समावेशी र दिगो सहरी विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार परियोजनाबाट सहरी पूर्वाधार सुधार, खुला स्थानहरूको सुदृढीकरण र सामुदायिक पहुँच विस्तारमा सहयोग पुग्नेछ।
नगरप्रमुख लामाले भनिन्, “यो परियोजनाले हेटौँडालाई आधुनिक, सुरक्षित र जलवायुप्रतिरोधी सहरमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।”









