हेटौंडा । जेसीआई हेटौंडाले आयोजना गरेको ‘जेसीज सप्ताह २०२५’ शनिबार सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको यो सप्ताह विभिन्न सामाजिक, शैक्षिक र जनचेतनामूलक कार्यक्रमसहित सम्पन्न गरिएको हो ।
सप्ताहभरि रक्तदान, सुरक्षित मोटरसाइकल गुडाउने प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, साइबर सुरक्षा सम्बन्धी जनचेतना सत्र, हाजिरीजवाफ प्रतियोगिता तथा विपन्न समुदायलाई खाद्यान्न वितरण जस्ता विविध कार्यक्रम सञ्चालन गरिएको थियो । साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा सम्पन्न गरिएको जेसीआई हेटौंडाले जनाएको छ ।
कार्यक्रमको अन्तिम दिन शनिबार पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिएको थियो । समापन समारोह जेसीआई हेटौंडाका सन् २०२५ का अध्यक्ष पंकज दास बानियाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल जेसिजका सन १९९८ का राष्ट्रिय अध्यक्ष दिपक शाक्य प्रमुख अतिथि तथा सन् २०२४ का अध्यक्ष एवम् केन्द्रीय महासचिव विकेश लाल श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी, सदस्य र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जेसीआई हेटौंडाले प्रत्येक वर्ष झैं यस वर्ष पनि समाजसेवा र नेतृत्व विकासका गतिविधिबाट युवा सशक्तीकरणको सन्देश फैलाउने लक्ष्यसहित जेसीज सप्ताह आयोजना गरेको जनाएको छ ।









