हेटौंडा । लागुऔषध प्रयोगकर्ताको पुनर्स्थापनाका लागि कार्यरत संस्था रिकभरिङ नेपालको १९औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ। भेलामा देशभरका सातै प्रदेशका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय एकलाल श्रेष्ठले बागमती प्रदेश सरकारले लागुऔषध नियन्त्रण, उपचार र पुनर्स्थापनासम्बन्धी नीति तथा कार्यक्रम निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले लागुऔषधको समस्या केवल स्वास्थ्य वा कानुनी मुद्दा नभई सामाजिक विषय पनि भएकाले पुनर्स्थापनामा सामुदायिक संस्थाहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्नुभयो।
“प्रदेश सरकारले पुनर्स्थापनाको अभियानमा समुदायसँग हातेमालो गरेर काम गर्नेछ,” — माननीय श्रेष्ठले भन्नुभयो।
विशेष अतिथिहरूमध्ये हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईं, एनजिओ महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता रिकभरिङ नेपालका केन्द्रीय अध्यक्ष दिलीप गुरुङले गर्नुभएको थियो। अध्यक्ष गुरुङले विगतका कार्यसमितिले संस्थाको अभियानलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी दिनमा पुनर्स्थापनाको कार्यलाई अझ प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ्ने जानकारी दिनुभयो।
“रिकभरिङ नेपाल केवल संस्था होइन, यो लागुऔषधबाट प्रभावित हजारौँ जीवनको पुनःआशा हो,” — अध्यक्ष गुरुङको भनाइ थियो।
साधारण सभाले विगत कार्यसमितिको सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ निर्वाचित केन्द्रीय कार्यसमिति यसप्रकार रहेको छ —
अध्यक्ष: दिलीप गुरुङ
उपाध्यक्षहरू: दीपक चापागाईं, धुर्ब के.सी.
महासचिव: उज्ज्वल कर्माचार्य
कोषाध्यक्ष: ऋद्धि प्रताप जंग राणा
सचिवहरू: रबि कृष्ण श्रेष्ठ, समीर थापा क्षेत्री
सदस्यहरू: साउजन डी.सी., मनिश तन्डुलकर, यमकला राई, विज्ञान, अश्विन थापा, नवराज पाण्डे, ललित भट्टराई, सुबोध पौडेल, केशव पुन मगर, सन्दीप शाक्य, भक्ती सितौला, दुर्गा रिजाल, रणवीर सिंह क्षेत्री, सम्पूर्ण ताम्राकार, राजकुमार लामा, सञ्जय खड्का।
(मनोनीत सदस्यहरू पछि नियुक्त गरिनेछन्।)
भेलामा सहभागी प्रतिनिधिहरूले लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि सहकार्य, सञ्जाल विस्तार र समुदायस्तरको पुनर्स्थापनात्मक अभियानलाई सबल बनाउन जोड दिएका थिए।











