भिमफेदी–१ नयाँ गाउँस्थित सूर्य आधारभूत विद्यालयलाई सहयोग

हेटौंडा । भिमफेदी गाउँपालिका–१ नयाँ गाउँमा रहेको सूर्य आधारभूत विद्यालयलाई स्विटर, टोपी, स्टेसनरी तथा खेलकुद सामाग्री वितरण गरिएको छ। उक्त सहयोग नेपाल क्योकुशिन कान करातेद्वारा बिहीबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

विद्यालयका २९ जना विद्यार्थीका लागि २९/२९ स्विटर, टोपी, स्टेसनरी तथा एक सेट खेलकुद सामाग्री विद्यालयका जेष्ठ सदस्य लक्ष्मी पाखृन तथा संयोजक विनोद नेगीका बुबा प्रेमबहादुर नेगीको हातबाट हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रशिक्षक तथा संयोजक विनोद नेगी, व्यवसायी मदन छेत्री, विश्व कला यात्री तथा नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका निर्वतमान प्राज्ञ–सभासद नगेनसिंह ठकुरीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी जेष्ठ सदस्य लक्ष्मी कान्छी पाखृनले गरेकी थिइन्।

सञ्चालन विद्यालयका शिक्षक भरतप्रसाद सापकोटाले गरेका थिए। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद तिमल्सिनाले दुर्गम क्षेत्रमा आएर सामग्री हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिएका थिए। कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा हाल २९ जना विद्यार्थी अध्ययनरत छन्।

यसैगरी, सोही संस्थाले भिमफेदी–१ सानुटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पनि स्विटर, टोपी, स्टेसनरी तथा खेलकुद सामाग्री सहयोग गरेको जनाएको छ। विद्यालयमा १० सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार २४ जना विद्यार्थीलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

सोही विद्यालयमा ‘नेपाल कला यात्रा’ पुस्तकको विमोचन समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.