हेटौंडामा भेटिएको बेवारिसे शिशुको स्वास्थ्यमा सुधार, उपमेयर बानियाँ अस्पतालमै पुगेर बुझे अवस्था

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर असोज १९ गते भेटिएको नवजात शिशुको स्वास्थ्यमा सुधार आएको छ। शिशुको अवस्था बुझ्न उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ सोमबार भरतपुर सरकारी अस्पताल पुगेका हुन्।

उनीसँगै उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, बालकल्याण अधिकारी बिना थिङ, सेफ हाउसकी बिन्दा बर्तौला र अन्य प्रतिनिधिहरूको टोली पनि अस्पताल पुगेको थियो।

उपमेयर बानियाँले उपचारमा संलग्न चिकित्सक र नर्सहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगको प्रतिबद्धता जनाए।

चिकित्सकहरूको भनाइअनुसार, ७५० ग्राम तौलका साथ अस्पताल भर्ना गरिएको शिशुको तौल क्रमशः बढ्दै गएको र स्वास्थ्यमा धेरै सुधार आएको छ। उनीहरूले भने, “शिशुमा आमाको न्यानो काखको कमी छ, तर उपचारपछि अवस्था उल्लेखनीय रूपमा सुधार हुँदै गएको छ।”

उपमेयर बानियाँले भने,“शिशुको उपचारका लागि उपमहानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ। आवश्यक सबै प्रक्रिया अघि बढाइनेछ।”

शिशु भेटिएलगत्तै हेटौंडा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। तर अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको हो।

दिउँसो करिब १ बजेतिर भेटिएको शिशुको उमेर १२ देखि १५ दिनको अनुमान गरिएको थियो । शिशु अत्यन्तै नाजुक अवस्थामा फेला परेका थिए।

यसैबीच, शिशुको आमाको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, प्रहरीले खोजी कार्य जारी राखेको तर अहिलेसम्म आमाको पहिचान हुन नसकेको बताएका छन्।

उनका अनुसार, “यस्ता अवस्थामा आमाको पहिचान पत्ता लगाउन कठिन हुने गर्छ, तर अनुसन्धान जारी छ।”

नेपालमा पछिल्ला वर्षहरूमा नवजात शिशु बेवारिसे धेरै भेटिएका छन् । कानुनले यस्ता कार्यलाई गम्भीर आपराधिक अपराधका रूपमा लिएको छ।

 नेपालको फौजदारी संहिता, २०७४ को धारा १८३ अनुसार—यदि कुनै महिलाले नवजात शिशुलाई जानाजानी मारेकी वा मर्न छोडेकी भए, १० वर्षसम्म कैद सजाय हुन सक्छ।

यदि शिशु जिउँदो अवस्थामा बेवारिसे छोडिएको भए पनि, त्यसका लागि ३ वर्षसम्म कैद वा जरिवानाको सजाय व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.