हेटौंडा । हेटौंडामा शनिबार ‘बदलिँदो अवस्थामा शिक्षा अधिकारको सवाल : प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान (NCE नेपाल) बागमती प्रदेश समितिको आयोजनामा बागमती संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको हो। कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागमती शिक्षा महानिर्देशक गोपाल कँडेल, बकैया गाउँपालिका शिक्षक शाखा प्रमुख आइतराम तामाङ, गैरसरकारी संस्था महासञ्जाल मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय शिक्षक संगठन अध्यक्ष मुकुन्द न्यौपाने, मानव अधिकार तथा मानव बेचबिखन विरुद्धको संजालकी संयोजक आरती पाठकसहित विभिन्न स्थानीय तथा प्रदेशस्तरीय प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रममा NCE बागमती प्रदेश सदस्य कुमारी वाइबाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रदेश सचिव रामचन्द्र आचार्यले संस्थाले गर्दै आएको कामबारे जानकारी दिनुभएको थियो। सार्वजनिक शिक्षाको रूपान्तरण कसरी सम्भवछ भन्ने विषयमा NCE नेपाल केन्द्रिय कार्यालयका व्यवस्थापक राम गैरेले प्रस्तुति दिएका थिए।
त्यस्तै शिक्षा विकास निर्देशनालय बागमतीका महानिर्देशक गोपाल कँडेलले शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था, मन्त्रालयको कार्यक्षेत्र, प्रदेशको शैक्षिक अवस्था, चुनौती र नागरिक समाजसँगको सहकार्य क्षेत्रबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । उहाँले बागमती प्रदेशमा विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको तथ्यांक प्रस्तुत गर्दै नागरिक समाजले शिक्षाको पहुँच तथा गुणस्तर सुधार, नीति निर्माणमा सहयोग, समावेशीता तथा समानता प्रवर्द्धन, डिजिटल तथा जीवन–कौशल आधारित शिक्षा विकासमा भूमिका खेल्न सक्ने बताउनुभएको थियो ।
अन्तरक्रियामा सहभागी शिक्षकहरूले विद्यालय मर्जपछि टाढा हिँडेर पुग्न नसक्दा विद्यार्थी विद्यालय छोड्ने समस्या बढेको गुनासो राख्नुभयो। चण्डिका माध्यमिक विद्यालयका शिक्षक कमल फुर्यालले मकवानपुरगढी गाउँपालिकामा निःशुल्क तथा अनिवार्य शिक्षा लागू गरिए पनि विद्यालय बस सञ्चालन तथा नियमितता सुनिश्चित गर्न स्रोत अभाव भएकाले समस्या बढेको बताउनुभयो । कार्यविधिअनुसार पालिकाले बस व्यवस्थापन गर्नुपर्ने भए पनि जिम्मेवारी नलिनु चुनौती भएको उहाँको भनाइ थियो।
राक्सिराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख पंकश थारुले पालिकाका ६ माध्यमिक विद्यालयमध्ये केवल एक जनामात्र स्थायी शिक्षक रहेको बताउँदै शिक्षक अभावले गुणस्तर प्रभावित भएको बताउनुभयो । विद्यालय मर्जपछि शिक्षक सरुवा प्रक्रियामा धम्कीसमेत बेहोर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा पूर्वमन्त्री मोक्तानले आफ्नो कार्यकालमा अभिभावक सचेतनामा जोड दिएको बताउनुभयो । मकवानपुरगढी अध्यक्ष दोर्जे लामा स्याङ्तानले राजनीतिक नेतृत्वले जिम्मेवारीपूर्वक काम नगरे समस्याको समाधान हुन नसक्ने धारणा रराख्नुभयो। पत्रकार सुरेश श्रेष्ठले प्रदेश सरकारले विद्यालय तहमा मात्र केन्द्रित भई विश्वविद्यालय तहको शिक्षालाई पन्छ्याइरहेको टिप्पणी गर्नुभयो ।
संयोजक प्रकाश खतिवडाले लैङ्गिक हिंसा अन्त्य, समानता प्रवर्द्धन तथा बालविवाह रोकथाममा पुरुष र बालकहरूको सक्रिय सहभागिता अपरिहार्य भएको भन्दै तीन तहका सरकार, नागरिक समाज र सरोकारवालाबीच मजबुत समन्वय आवश्यक रहेको बताउनुभयो ।
NCE नेपाल देशभर ५०८ सामाजिक संस्थाको साझा नेटवर्कका रूपमा सार्वजनिक शिक्षा सुदृढीकरण तथा शिक्षा अधिकारका पक्षमा क्रियाशील संस्था हो।










