हेटौंडामा १३ वर्षीया बालिका ८ दिनदेखि बेपत्ता

हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडमा कोठा भाडामा बस्दै आएकी इन्द्रकुमारी राईकी १३ वर्षीया छोरी टेरिसा राई बेपत्ता भएकी छिन्।

हेटौंडा–१० मा अवस्थित सोलिडायरिटी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत टेरिसा मंसिर २१ गते आइतबार विद्यालयबाट घर फर्कने क्रममा हराएकी हुन्। विद्यालय नजिकै जडान गरिएको सीसीटीभी फुटेजमा टेरिसालाई फुपुको छोरा नाताले दाइ पर्ने २९ वर्षीय सुदर्शन राई नामका युवकले लिएर गएको देखिएको परिवारले जनाएको छ।

विद्यालय समय सकिएपछि घर नफर्किएपछि आमाले खोजी सुरु गरेकी थिइन्। सोही दिन प्रहरीमा समेत उजुरी दर्ता गराइएको थियो।  यति दिन बितिसक्दा पनि टेरिसाको अवस्था र ठेगाना अझै पत्ता लाग्न सकेको छैन।

परिवारका अनुसार सुदर्शन राई लागुऔषध प्रयोगकर्ता रहेकोले छोरीको सुरक्षालाई लिएर उनीहरू झनै चिन्तित छन्। टेरिसाका बाबुआमा छोरीको खोजीमा सोही दिन राति भारतको रक्सौलसम्म पुगेका थिए। “हामीले खोज्न बाँकी कुनै ठाउँ राखेका छैनौँ,” परिवारले जनाएको छ।

छोरीको अवस्थालाई लिएर आमाले गहिरो मानसिक र शारीरिक तनाव भोगिरहेको बताएकी छिन्। उनले छोरीको ज्यान जोखिममा रहेको भन्दै भावुक अपिल गरेकी छन्।

हाल प्रहरीद्वारा खोजी कार्य जारी रहे पनि टेरिसासँग कुनै सम्पर्क हुन सकेको छैन। आमाले भान्जा सुदर्शन राईलाई छोरी सुरक्षित घर फर्काइदिन सार्वजनिक रूपमा अपिल गरेकी छिन्। साथै, आमाले सबैलाई टेरिसाको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छन्।

यदि कसैले टेरिसा राई वा यस घटनासम्बन्धी कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्त जानकारी गराइदिन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.