हेटौंडा। सिआन पुनर्स्थापना केन्द्रको आयोजनामा लागूपदार्थ प्रयोगकर्ता, पुनर्स्थापना सेवा, एचआईभी (HIV) सम्बन्धी कार्यक्रम तथा कानून कार्यान्वयन निकायबीचको समन्वय सुदृढीकरणका लागि जिल्ला स्तरीय समन्वय बैठक सोमबार सम्पन्न भएको छ।
उक्त बैठक जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (डीएसपी) पुष्कर बोगटीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको बैठक कक्षमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गतका विभिन्न शाखा तथा फाँटका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा मकवानपुर जिल्लामा बढ्दो लागूपदार्थ प्रयोगको अवस्था, पुनर्स्थापनाका चुनौतीहरू, महिला इन्जेक्सनमार्फत लागूपदार्थ प्रयोग गर्नेहरू (एफआईडीयूज) को विशेष अवस्था, एचआईभी संक्रमणको जोखिम, उपचार तथा पुनर्स्थापनामा प्रहरी, स्वास्थ्य सेवा र पुनर्स्थापना केन्द्रबीचको समन्वयका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीएसपी पुष्कर बोगटीले लागूपदार्थ प्रयोगकर्तालाई दण्डमुखी दृष्टिकोणभन्दा उपचारमुखी र मानवअधिकारमैत्री दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रहरीको सहजीकरणमा आधारित पुनर्स्थापनात्मक प्रयासले दीर्घकालीन रूपमा अपराध नियन्त्रण, सामाजिक स्थायित्व र सार्वजनिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताए।
सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरूले पुनर्स्थापनाका क्रममा देखिने सामाजिक, आर्थिक तथा कानुनी चुनौतीहरू प्रस्तुत गर्दै प्रहरीसँगको सहकार्य र समन्वयले उपचार तथा पुनर्स्थापनाको प्रभावकारिता उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्तगरे। साथै, महिला तथा अन्य कमजोर समूहका लागूपदार्थ प्रयोगकर्ताका लागि सुरक्षित, संवेदनशील र सहयोगी वातावरण निर्माण गर्न सबै सरोकारवाला निकायको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइयो।
बैठकमा प्रहरी, पुनर्स्थापना केन्द्र तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी सन्दर्भ प्रणाली (रेफरल सिस्टम) विकास, उपचारको निरन्तरता, सामाजिक पुनःसमावेश र रोकथामका कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाउने विषयमा सहमति व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता समन्वयात्मक पहललाई निरन्तरता दिँदै जिल्ला स्तरमा साझा कार्ययोजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याएका थिए।










