हेटौंडा । मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडामा बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “हाम्रो आवाज, चेलीबेटी बेचबिखन मुक्त समाज” भन्ने नाराका साथ माइती नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङको संयुक्त आयोजनामा सेवा केन्द्रको भवनमा एकदिने कार्यक्रम सम्पन्न भएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल प्रमुख आतिथ्यता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले मानव बेचबिखनबाट चेलीबेटीलाई मुक्त राख्न समाजका सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । उनले मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउन माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन।
जनचेतनामूलक कार्यक्रममा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विस्तृत प्रस्तुतीकरण दिएकी थिइन् । उनले हिंसाका प्रकार, अन्तर्राष्ट्रिय कानुनअनुसार महिला विरुद्ध हुने हिंसाको परिभाषा, संवैधानिक व्यवस्था, घरेलु हिंसा नियन्त्रणसम्बन्धी कानुन, पीडित र पीडकको परिभाषा, उजुरी दिने निकाय, उजुरी प्रक्रिया तथा घरेलु हिंसामा हुने सजायलगायत विषयमा जानकारी दिएकी थिइन् ।
कार्यक्रममा माइती नेपाल केन्द्रीय कार्यालयकी कार्यक्रम संयोजक रोजिना श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख पुरुषोत्तम पौडेल, माइती नेपालका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय समुदायका करिब ७५ जनाको सहभागिता रहेको थियो।
माइती नेपालले विगत ३३ वर्षदेखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध निरन्तर काम गर्दै आएको जानकारी पनि लामाले दिइन् ।
यसअघि माइती नेपालले सिन्धुली, उदयपुर, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा यस्तै जनचेतनामूलक अभियान सम्पन्न गरिसकेको जनाएको छ। आगामी दिनमा मकवानपुरमा दुईदिने र चितवनमा एकदिने जनचेतनामूलक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।











