हेटौंडा । HSM Presents कमाने प्रिमियर लिग (केपीएल) सिजन–४ को प्लेयर अक्सन कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रतियोगिताको तयारीस्वरूप मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–८ स्थित शुभम पार्टी प्यालेसमा अक्सन आयोजना गरिएको हो।
६ टिम सहभागी हुने प्रतियोगिताका लागि १३१ जना सूचीकृत खेलाडीमध्ये प्रत्येक टिमले २ जना मार्की खेलाडी (जसमध्ये १ जना स्थानीय खेलाडी अनिवार्य) सहित अक्सनमार्फत खेलाडी छनोट गरेका छन्। अक्सनअघि नै सबै टिमले आफ्नो कप्तान तय गरिसकेको आयोजकले जनाएको छ।
यस संस्करणमा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिसकेका जनकपुर बोल्ट्सका खेलाडी शुभ कंशकारले समेत कमाने प्रिमियर लिग खेल्ने भएका छन्। अक्सन प्रक्रियामार्फत ५२ जना स्थानीय खेलाडी छनोट भएका छन् भने बाँकी खेलाडीहरू ट्यालेन्ट हन्ट तथा अन्य प्रक्रियामार्फत टिमहरूले आवश्यकताअनुसार खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
कमाने क्रिकेट क्लबको आयोजनामा हुन लागेको केपीएल सिजन–४ आगामी माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुनेछ।
स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको अक्सन कार्यक्रम क्लबका सचिव तथा खेल संयोजक विष्णु दहालको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नम्बर–८ का अध्यक्ष रामकृष्ण थापा, विशिष्ट अतिथि वडा सदस्य गोरथनाथ राय रहेका थिए। साथै बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम केसी, राष्ट्रिय अम्पायर विनोद वानिया, बागमती प्रदेश खेलकुद समिति सदस्य संगीत श्रेष्ठ, नगर खेलकुद समिति सदस्य यज्ञ राय, वडा खेलकुद समिति अध्यक्ष उमेश थापा, कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापा, यति ब्रुअरी (अर्ना बियर) का प्रतिनिधि मोहन कुवार लगायतको उपस्थिति रहेको थियो।
हेटौडा स्कुल अफ म्यानेजमेन्ट टाइटल स्पोन्सर रहेको प्रतियोगिता वडा नम्बर–८ कार्यालयको प्रायोजनमा आयोजना हुन लागेको कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिए










