बकैयामा बालविवाहविरुद्ध सामूहिक प्रतिबद्धता

हेटौंडा । आइतबार बकैया गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउने उद्देश्यसहित बालविवाहविरुद्ध प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालका राष्ट्रिय अध्यक्ष तथा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा र सामाजिक विकास संयोजक गोपालबहादुर न्यासुरको विशेष आतिथ्यता रहेको थियो। साथै स्वतन्त्रता अभियानका सिनियर कार्यक्रम प्रबन्धक प्रतिक्षा केशी, सामाजिक विकास शाखा प्रमुख फटिक रमण प्याकुरेल, महिला विकास निरीक्षक होमकुमारी संजेल, वरिष्ठ शिक्षा अधिकृत ईतराम तामाङ, रोजगार संयोजक रामचन्द्र खड्का, मनोसामाजिक परामर्शकर्ता शान्ति स्याङ्बो लगायतको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम बकैया गाउँपालिका, बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल नेपाल (GNB Nepal), स्वतन्त्रता अभियान नेपाल र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बालविवाह, उमेर नपुगेको विवाह तथा जबरजस्ती हुने विवाहविरुद्ध हस्ताक्षर गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैयालाई बालविवाह मुक्त पालिका बनाउने अभियान सञ्चालन भइरहेको जानकारी दिँदै किशोरी लक्षित कार्यक्रममार्फत उनीहरूलाई आफैं बालविवाह नगर्ने निर्णय गर्न सक्षम बनाउने कार्य भइरहेको बताए। उनले बालविवाह, उमेर नपुगेको विवाह र जबरजस्ती विवाह अन्त्यका लागि प्रतिबद्धतामा हस्ताक्षर गर्दै पालिकाको दृढ अडान व्यक्त गरे।

उपाध्यक्ष भक्तबहादुर खत्रीले बालविवाह अन्त्य गर्नु चुनौतीपूर्ण भए पनि किशोरी र बालिकाको अधिकार संरक्षणका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालविवाह, उमेर नपुगेको विवाह र जबरजस्ती विवाह अन्त्यका लागि बहुक्षेत्रीय अवधारणा र लैङ्गिक रूपान्तरणकारी दृष्टिकोणका आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वक्ताहरूले नेपालमा बालविवाह गैरकानुनी रहेको उल्लेख गर्दै बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर नकारात्मक असर पर्ने बताए। त्यसका लागि नागरिक समाज संस्था र स्थानीय सरकारबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखिएको थियो।

कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बाल अधिकार समिति, शिक्षक, व्यवसायी, महिला समूह, टोल विकास संस्था, नागरिक समाज संस्था तथा बालमैत्री सहजकर्तालगायत सरोकारवालाहरूले आपसी समन्वय र सहकार्य गर्दै बकैया गाउँपालिकालाई दीगो रूपमा बालविवाह मुक्त पालिका बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.