हेटौंडा । सामाजिक अभियन्ता तथा सेवा,सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष विशाल राज महतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ बाट उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै महतले पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुपर्ने विषयमा विभिन्न माध्यमबाट सुझाव, आग्रह र अपेक्षा आइरहेको स्वीकार गरेका छन्। फोन, सन्देश, सामाजिक सञ्जाल, समाचार सम्प्रेषण तथा प्रत्यक्ष भेटघाटमार्फत आएका ती आवाजलाई उनले जनपक्षीय कामप्रतिको भरोसा र मूल्यांकनको प्रतिफलका रूपमा लिएको बताएका छन्।
यद्यपि, हालको सन्दर्भमा प्रतिनिधि सभा उम्मेदवारीको कुनै योजना नरहेको उल्लेख गर्दै महतले यसलाई असक्षमता, डर वा पन्छाइका रूपमा नबुझ्न आग्रह गरेका छन्। उनका अनुसार स्थानीय तहमै बसेर गर्नुपर्ने अझै धेरै अधुरा काम, आवाजविहीन पीडा र समाधानको प्रतीक्षामा रहेका मुद्दाहरू छन्, जहाँ आफ्नो सक्रिय भूमिका अझ आवश्यक रहेको छ।
“राजनीति केवल चुनाव जित्ने प्रक्रिया मात्र होइन, यो जनतासँग निरन्तर उभिने, दुख–सुख साट्ने र परिणाम देखिने गरी काम गर्ने इमानदार यात्रा हो,” उनले लेखेका छन्। पदमा नरहे पनि आफू जनताको पक्षमा र समाजकै बीचमा निरन्तर रहने प्रतिबद्धता उनले दोहोर्याएका छन्।
महतले जनताबाट प्राप्त विश्वासलाई आफ्नो शक्ति र अपेक्षालाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्दै सामाजिक अभियान र सेवामार्फत जनपक्षीय कामलाई निरन्तरता दिने बताएका छन्।











