हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१० वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता २०८२ आगामी माघ १६ र १७ गते दुई दिनसम्म आयोजना हुने भएको छ। उक्त कार्यक्रम हेटौंडा–१० स्थित बसपार्क परिसरमा सञ्चालन गरिनेछ।
वडा अध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार प्रदर्शनी तथा नृत्य प्रतियोगितामा विशेष गरी वडा नम्बर १० सहित हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागिता जनाउन सकिने व्यवस्था मिलाइएको छ।
तालिम तथा सीप विकासमार्फत साना उद्योग र लघु उद्यमीलाई प्रोत्साहन गर्ने, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको वडा अध्यक्ष लामाले बताए।
प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाभित्रका किसान तथा व्यवसायीहरूले उत्पादन तथा निर्माण गरेका सेवा र वस्तुहरूको प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ। यसका लागि कम्तीमा १०० वटा घरेलु उत्पादनका स्टलहरू राखिने जनाइएको छ।
यसैगरी वडा नम्बर १० अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको प्रवर्द्धन, स्थानीय जातजातिका भेषभूषा, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले स्थानीय पर्यटन तथा खाना महोत्सव समेत आयोजना गरिनेछ। कला र संस्कृतिको पहिचान झल्किने गरी नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ।
नृत्य प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका इच्छुक कलाकारहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने यस मेलाले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको जानकारी दिइएको छ।










