साहारा ग्यासद्वारा ७ सय ३६ थान गुणस्तरहीन तथा पुराना ग्यास सिलिण्डर नष्ट

हेटौंडा । एभरेष्ट ग्यास संसारद्वारा सञ्चालित हेटौंडा ३ बसामाडीमा रहेको साहारा ग्यास इन्डष्ट्रिज प्रालिले गुणस्तरहीन तथा पुराना ग्यास सिलिन्डर नष्ट गरेको छ। शुक्रबार एक कार्यक्रमबीच सो प्रकृतिका ७ सय ३६ थान एलपी ग्यास सिलिण्डर नष्ट गरेको हो ।

उपभोक्ताको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण रूपमा पालना गरी म्याद गुज्रिएका, लिकेज भएका, प्वाल परेका, फुटिङ तथा नेकरिङ बिग्रिएका, हाइड्रो टेस्टमा फेल भएका र प्रयोगका लागि अनुपयुक्त सिलिण्डरहरू नष्ट गर्दै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशका सातवटै प्रदेशमा आपूर्ति गर्न सकिने गरी विभिन्न नाम र ब्रान्डबाट सात वटा एलपी ग्यास रिफिलिङ उद्योग सञ्चालन गर्दै आएको छ। एलपी ग्यास अत्यन्तै प्रज्वलनशील पदार्थ भएकाले यसको आयात, रिफिलिङ, ढुवानी तथा उपभोक्ताको भान्सासम्म सुरक्षित रूपमा पुर्‍याउनु चुनौतीपूर्ण कार्य रहेको कम्पनीको भनाइ छ।

यसअघि कम्पनीले २०७९ सालमा ६ सय ३७ थान सिलिण्डर नष्ट गरेको थियो । उपभोक्ताको सुरक्षा र सुरक्षित ग्यास आपूर्ति नै कम्पनीको मुख्य प्राथमिकता रहेको बताइएको छ ।

गुणस्तरहीन र पुराना सिलिन्डर नष्ट गर्ने कार्यक्रममा गुणस्तर तथा नापतौल विभाग, उद्योग तथा वाणिज्य कार्यालय, नेपाल आयल निगम बिरगंज, बागमती प्रदेश ग्यास व्यवसायी संघ, मकवानपुर ग्यास व्यवसायी संघ, प्रहरी चौकी लेवर्ट, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुर र हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा लागयतका सरोकारवाला निकाय एवम् कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम प्रालिका प्रबन्धक खड्ग बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न भयो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.