हेटौंडा । बागमती प्रदेश सरकारकी नव नियुक्त मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश र मकवानपुर जिल्लाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्मा, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्ध शरण लामा, जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष मन प्रसाद भट्टराई, गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटा लगायत मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बधाई तथा शुभकामनाप्रति धन्यवाद व्यक्त गर्दै मुख्य न्यायाधिवक्ता बस्नेतले आफ्नो निरन्तर मेहनतको प्रतिफलस्वरूप यो जिम्मेवारी प्राप्त भएको बताइन्। सहभागी संस्थाहरूले व्यक्त गरेको विश्वासले आफूलाई अझ सचेत, प्रेरित र जिम्मेवार बनाएको उल्लेख गर्दै उनले न्याय र कानूनी शासन सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाइन्।










