हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीसँग निर्वाचन र पत्रकार आचार संहिताका विषयमा अन्तरक्रिया गरेको छ।
कार्यक्रममा बोल्दै सदस्य बिडारीले देश निर्वाचनको संघारमा रहेकाले सञ्चारमाध्यमले अझ संवेदनशील र जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचन आचार संहिता र पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै सत्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे।
प्रेस काउन्सिल दर्ता भई नियमसंगत रूपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमको संरक्षक भए पनि कतिपय अवस्थामा मिडियाबाट पीडित आमनागरिकको पक्षमा उभिनुपर्ने अवस्था आउने बिडारीले बताए। त्यसैले आचार संहिता उल्लङ्घन नहोस् भन्नेमा सञ्चारकर्मीहरू विशेष सचेत हुनुपर्ने उनको भनाइ थियो।
निर्वाचनजस्ता संवेदनशील समयमा भ्रामक सूचना र अफवाह फैलिने जोखिम उच्च हुने उल्लेख गर्दै बिडारीले यस्तो अवस्था आमसञ्चार माध्यमको समेत परीक्षा हुने बताए। विषम परिस्थितिमा संयम अपनाई तथ्यमा आधारित सूचना प्रवाह गर्न र समस्या देखिएमा प्रेस काउन्सिलले तोकेको फोकल पर्सनलाई तत्काल जानकारी गराउन उनले आग्रह गरे।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठ, जिल्ला शाखाका पूर्व अध्यक्ष भानुभक्त आचार्य तथा विभिन्न पत्रपत्रिकाका प्रकाशक र सम्पादकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव केशव सुवेदी समर्पणले गरेका थिए।









