कैलाशको बेतेघारी गाउँलाई सफा र स्वच्छ गाउँ घोषणा

कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेतेघारी गाउँलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । ३७ घरधुरी रहेको गाउँलाई मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सफा र स्वच्छ गाउँ घोषणा गरेका हुन् ।
घोषणा गर्दै खानेपानी सरसफाइमा ध्यान दिँदै स्वच्छ र सफा गाउँ बनाउन लाग्नुपर्ने बताए । खानेपानी आम नागरिकको मौलिक अधिकार हो । मानव जीवनमा पानी र सरसफाई अपरिहार्य रहने भएकाले शुद्ध खानेपानी पिउन सबैमा अनुरोध छ, अध्यक्ष मुक्तानले भने । खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको बताउँदै खानेपानी दीगो बनाउन सबैको दायित्व रहन्छ ।
पानीका ट्याङ्की लगायत अन्य संरचना संरक्षण गर्नु यहाँहरुको दायित्व हो, सबै मिलेर व्यवस्थापन गर्न अध्यक्ष मुक्तानले निर्देशन दिएका छन् । एक घर एक धारा राज्यको नीति छ, सोही अनुरुप हामीले क्रमिक रुपमा टोलटोल र गाउँगाउँमा काम गरिरहेका छौं, मुक्तानले भने । सरसफाईका प्रतिवद्धताहरु कार्यान्वयन गर्नुपर्ने बताउँदै सडक, घरआँगन र सिंगो समूदायनै सफा राख्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले नेपाल सरकारको दीगो विकाससँग जोडिएको सरसफाई र खानेपानीक्षेत्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारका कार्यहरु भइरहेको बताए । जसरी गाउँ समाज र टोललाई सफा र स्वच्छ गाउँ बनाउने अभियान छ सबै वडा वडामा पुग्ने लक्ष्य गाउँपालिकाको रहेको बताए ।
आफ्नो टोल गाउँ सफा राख्नु हामीले सबैको कर्तव्य हो, स्थानीय सरकारले नीति तथा कार्यक्रममा समेट्दै एक घर एक धारा भनि स्वच्छ र सफा पानी नागरिक समक्ष पुर्याउने लक्ष्य छ, उनले भने ।
वडा १० का अध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुनसरी राई, बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, उपाध्यक्ष दलमान गुरुङ, आधारभूत स्वास्थ्य चौकी भाल्टारका प्रमुख सन्तोष कुमार सिंह, बेतेघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष आइत सिं स्याङ्बोलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सरसफाई कार्यमा उत्कृष्ट हुने स्थानीयबासी, खानेपानी समिति लगायत विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । गाउँपालिकाले प्रेम सेवा समाजसँगको साझेदारीमा एक घर एक धारा, खानेपनी ट्याङ्की निर्माण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.