रेडियो मकवानपुरले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै

हेटौंडा । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २८ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने भएको हो । वार्षिकोत्सवको अवसरमा रेडियोले माघ १६ देखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ । शुक्रबार रेडियोको प्राङ्गण हेटौंडा २ पल्पसाहल रोडमा रक्तदान गरी सप्ताहव्यापी कार्यक्रमको सुरुवात हुनेछ । १७ गते हेटौंडा १८ हर्नामाडीमा रहेको श्री वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न वितरण, १८ गते महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहलाई सेनेटरी प्याड वितरण, १९ गते रेडियोमै निर्वाचन आचारसंहिता सम्बन्धि अन्तर संवाद, २० गते मिडिया कप फुटसल प्रतियोगिता र २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको समापनमा मकवानपुरका २ जनालाई सामुदायिक सम्मान समेत प्रदान गरिनेछ । सामाजका २ अगुवालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । ‘सामुदायिक रेडियोको धर्म निर्वाह गर्ने क्रममा रेडियोको वार्षिकोत्सवदेखि रेडियोको सञ्चालक संस्था दिव्यताराको स्थापना दिवससम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने गरेका छौं’, अध्यक्ष पराजुलीले भने, ‘सोही क्रममा यस वर्ष पनि निरन्तरता दिँदैछौं । सबै कार्यक्रममा सहभागिताको निम्ति रेडियोका शुभेच्छुक, विज्ञापनदाता, स्रोताहरुलाई हार्दिक अनुरोध समेत गर्दछौं ।’ २०६६ साल माघ १६ गते सहिद दिवसका दिनबाट औपचारिक प्रशारण सुरु गरेको रेडियोले वार्षिकोत्सव र हरितालिका तीज कार्यक्रममा २÷२ जनालाई सम्मान गर्दै आएको छ । विषम् परिस्थितीका बाबवुद पनि सकेसम्म सबै क्षेत्रलाई समेटेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिन लागिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.