कमाने प्रिमियर लिगको उपाधि कमाने एक्सपर्ट भिजन–११ लाई

 

हेटौंडा । हेटौंडा–८ कमानेस्थित कमाने क्रिकेट क्लबद्वारा आयोजित कमाने प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिता को उपाधि कमाने एक्सपर्ट भिजन–११ ले जितेको छ ।

शनिबार हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा कमाने एक्सपर्ट भिजन–११ ले कमाने राइडर्सलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कमाने राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । राइडर्सका लागि सुखेन्दु समन्थले १८ बलमा आक्रामक ३५ रन बनाए भने राम नरेश गिरीले १६ बलमा २९ रन र काशपल अधिकारीले ३५ बलमा २७ रनको योगदान दिए । बलिङतर्फ कमाने एक्सपर्ट भिजनका सागर मगरले सर्वाधिक ३ विकेट लिए भने सुजित पटेलले २ विकेट हात पारे ।

१५४ रनको लक्ष्य पछ्याएको कमाने एक्सपर्ट भिजन–११ ले १९ ओभर १ बलमै ७ विकेट गुमाउँदै १५७ रन जोडेर उपाधि सुरक्षित गर्‍यो । टोलीको जितमा असीम श्रेष्ठले ३६ बलमा शानदार ६० रनको अर्धशतकीय पारी खेले । सुजित पटेलले १९ बलमा ४० रन तथा इरफान अलिले २० बलमा २७ रनको महत्वपूर्ण योगदान दिएका थिए । राइडर्सका तर्फबाट प्रविन घिमिरेले ३ विकेट लिए भने विपुल खनालले २ र विष्णु राउतले १ विकेट लिए । खेलको म्यान अफ द म्याच विष्णु राउत घोषित भए ।

उपाधि विजेता कमाने एक्सपर्ट भिजन–११ ले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता कमाने राइडर्सले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा विष्णु राउत उत्कृष्ट खेलाडी, संजीव थापा उत्कृष्ट ब्याट्सम्यान, सागर मगर उत्कृष्ट बलर तथा दिप्सन चौलागाईं इमर्जिङ प्लेयर घोषित भए । उनीहरूलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

कमाने प्रिमियर लिगका खेल संयोजक विष्णु दहालको सभाध्यक्षता तथा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करन महतरा क्षेत्री, सचिव विनोदकुमार बानियाँ, सदस्य संजोक पोखरेल, आयोजक समितिका अध्यक्ष किशोर खत्री तथा कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापालगायतको उपस्थिति रहेको थियो ।

लिग चरणमा ५ खेलमध्ये ४ खेल जित्दै कमाने एक्सपर्ट भिजन–११ शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो भने कमाने राइडर्स पनि समान ४ जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.