हेटौंडा । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) को २२औँ वार्षिकोत्सवको उपलक्ष्यमा अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित ब्याडमिन्टन डबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
प्रतियोगिताको पहिलो चरणअन्तर्गत टेलिकमका विभिन्न जिल्लास्तरमा नकआउट चरणका खेलहरू सञ्चालन गरिएका थिए। त्यसपछि माघ १४ मा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विजयी हुँदै सातै प्रदेशबाट १२ जना खेलाडी राष्ट्रिय चरणका लागि छनोट भएका थिए।
माघ १६ र १७ गते काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको ब्याडमिन्टन डबल प्रतियोगितामा सेमिफाइनल चरण पार गरेका खेलाडीहरूबीच फाइनल खेल सम्पन्न भएको थियो। फाइनलमा रबिन्द्र नेपाल र सुरेन्द्र कार्कीको जोडी तथा शोभाकर भण्डारी र महेन्द्र लुइँटेलको जोडीबीच प्रतिस्पर्धा भएको थियो।
रोमाञ्चक फाइनल खेलमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड सिमरा शाखामा कार्यरत कर्मचारी रबिन्द्र नेपाल र धनगढी शाखामा कार्यरत कर्मचारी सुरेन्द्र कार्कीको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ।
यस प्रतियोगिताले कर्मचारीहरूबीच आपसी सद्भाव, स्वास्थ्यप्रति सचेतना र खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक समितिले जनाएको छ।










