मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको लागुऔषध विरुद्धको ३ महिने अभियान अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा विविध सचेतनामूलक, समन्वयात्मक तथा समुदाय केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
अभियान अन्तर्गत आयोजित पालिका स्तरीय समन्वय बैठक गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष उमा कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, सरोकारवाला संघ–संस्था तथा रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लामाले स्थानीय तह लागुऔषध नियन्त्रण तथा न्यूनीकरणमा अग्रपंक्तिमा उभिनुपर्ने उल्लेख गर्दै ‘लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६’ अनुसार पालिका स्तरीय समन्वय समिति तत्काल गठन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा अभियानलाई संस्थागत गरिने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिका अध्यक्ष पुडासैनीले लागुऔषध दुर्व्यसन सामाजिक, पारिवारिक तथा विकास प्रक्रियामा चुनौतीका रूपमा देखिएको बताउँदै यसको न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन, जनचेतनामूलक कार्यक्रम विस्तार, विद्यालय केन्द्रित अभियान, पुनर्स्थापना सहकार्य तथा दीर्घकालीन नीतिगत व्यवस्था निर्माणमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले स्थानीय सरकार, प्रशासन र पुनर्स्थापना केन्द्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै परिणाममुखी अभियान सञ्चालन गरिने स्पष्ट पारे।
अभियान अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको पञ्चकन्या माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसनका कारण, असर, कानुनी पक्ष, मानसिक स्वास्थ्य, जीवन सीप तथा ‘नाइ भन्न सक्ने क्षमता’ विकाससम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक प्रतिनिधि, रिकभरिङ नेपालका प्रतिनिधि, नेपाल प्रहरी तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी अभियानलाई दीर्घकालीन सन्देश प्रवाहसँग जोड्न गाउँपालिकाका मुख्य चोक तथा सार्वजनिक स्थलहरूमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय परिसर बाहिर धूम्रपान निषेधित क्षेत्र जनाउने बोर्ड राखिनुका साथै मुख्य बजार क्षेत्रमा सन्देशमूलक पर्चा, स्टिकर तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
समुदाय, विद्यालय, स्थानीय सरकार, प्रशासन तथा पुनर्स्थापना क्षेत्रबीचको बहुआयामिक सहकार्यमा सञ्चालित यो अभियानले इन्द्रसरोवर गाउँपालिकालाई लागुऔषध विरुद्ध सचेत, संगठित र जिम्मेवार समाज निर्माणतर्फ उन्मुख गराउने विश्वास लिइएको छ। अभियान अन्तर्गत आगामी दिनमा थप परिणाममुखी कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ।









