हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको ५३औँ नगर स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय हेटौंडामा आश्रितहरूलाई लत्ताकपडा तथा एकछाक भोजन सहयोग गरिएको छ।
हेटौंडा–९, लामसुरेस्थित आश्रममा आश्रित करिब २५० जना वृद्धवृद्धा तथा बालबालिकाका लागि लत्ताकपडा वितरण गर्नुका साथै एकछाक भोजनको व्यवस्था गरिएको हो।
कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले आश्रमका प्रतिनिधिलाई लत्ताकपडा हस्तान्तरण गरेकी थिइन्। उनले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सामाजिक उत्तरदायित्वसँग जोड्दै सहयोगात्मक गतिविधिमार्फत मनाउन पाउँदा खुसी लागेको बताइन्।
सो अवसरमा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, प्रशासन शाखा प्रमुख लक्ष्मण मैनाली, कृषि प्रमुख श्याम श्रेष्ठ तथा नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकाललगायत कर्मचारीहरूको उपस्थिति थियो।
उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रसँग सहकार्य गर्दै मानवीय सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।










