निर्वाचनमा बालअधिकार संरक्षणबारे हेटौंडामा अन्तरक्रिया

हेटौंडा। निर्वाचनका सन्दर्भमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। सोमबार इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड नेटवर्कको सहयोगमा कार्यक्रम गरिएको हो।

इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा अप्सरा चापागाईं प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै उपसभामुख चापागाईंले बालअधिकार हनन हुन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले फागुन २१ को चुनाव मात्र नभई नियमित रूपमा बाल संरक्षणका विषयमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो।

अन्तरक्रियामा निर्वाचनमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतीकरण दिनुभयो। उहाँले विद्यमान कानुनी व्यवस्था, बालअधिकार, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत पालना गर्नुपर्ने आचरण, बालबालिका स्वयंको भूमिका, अभिभावक, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारको जिम्मेवारीबारे प्रकाश पार्नुभयो।

खुला छलफलसँगै कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले बालअधिकार संरक्षणमा प्रतिबद्धता जनाए। उनीहरूले यस्ता कार्यक्रम निर्वाचन लक्षित मात्र नभई अन्य समयमा पनि सञ्चालन गरिनुपर्नेमा जोड दिए।

यसैबीच, हेटौंडा–११ स्थित सुधारगृहमा क्षमताभन्दा बढी बाल कैदी राखिएको विषयमा समेत सहभागीहरूले ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा,नेपाली कांग्रेस जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, नेकपा एमाले सचिव सीता विष्ट, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य प्रलाद लामिछाने, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, निर्वाचन कार्यालयका तारा प्रसाद आचार्य, सिविन प्रबन्धक झबिन्द्र ज्ञावली, ‘बालिका दुलही होइनन्’ अभियानका अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, मुख्य न्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, हिमाली नवीन समाजका कार्यकारी निर्देशक रिजा महर्जन केबि राना,मुख्यमन्त्री कार्यालयका कानुन अधिकृत विनोद अमात्यलगायत मानवअधिकारकर्मीहरूले बालअधिकारको संरक्षणका  लागि प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाको भुमिका बारे मन्तव्य राख्नु राखेका थिए।

निर्वाचनमा बाल अधिकार संरक्षणमा दलका नेताले प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.