हेटौंडा । सिआन क्षति न्यूनीकरण परियोजना (ड्रप इन सेन्टर) द्वारा लागुऔषध सम्बन्धी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सार्वजनिक स्वास्थ्य र कानून कार्यान्वयन निकायबीच सहकार्य मजबुत बनाउने उद्देश्यले आयोजित समन्वय बैठक उत्साहजनक र सकारात्मक वातावरणमा सम्पन्न भएको छ।
परियोजना अन्तर्गत सञ्चालन भइरहेको महिला लक्षित कार्यक्रमबारे विस्तृत छलफल गर्दै सहभागीहरूले लागुऔषध प्रयोग गर्ने तथा जोखिममा रहेका महिलाहरूका लागि सेवा पहुँच विस्तार, उपचार–केन्द्रित दृष्टिकोण र सुरक्षित वातावरण सुनिश्चित गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्। बैठकमा स्वास्थ्य जोखिम न्यूनीकरण, ओभरडोज रोकथाम तथा एचआईभी/हेपाटाइटिस संक्रमण न्यूनीकरणलाई साझा लक्ष्यका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
छलफलका क्रममा लागुऔषध प्रयोगकर्ता र कारोबारीबीच स्पष्ट भेद गर्दै प्रयोगकर्ताका हकमा उपचार र पुनर्स्थापनालाई पहिलो प्राथमिकता दिनुपर्ने विषयमा सहमति जुटेको छ। साथै, औपचारिक रेफरल प्रणाली स्थापना गर्ने, वडा प्रहरी कार्यालय हेटौडाका लागि पुरुषतर्फ परामर्शदाता अनुप भुजेल र महिलातर्फ बिन्ति श्रेष्ठलाई फोकल पर्सन तोक्ने तथा नियमित समन्वय बैठक र तथ्यांक आदान–प्रदानलाई संस्थागत गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन महिलामैत्री, गोपनीयता–मैत्री र मानवअधिकारप्रति संवेदनशील अभ्यास अनिवार्य रहेको सहभागीहरूको भनाइ थियो। सहकार्य, विश्वास र निरन्तर संवादमार्फत मात्र दीगो समाधान सम्भव हुने निष्कर्ष निकाल्दै सबै पक्षले भविष्यमा अझ सुदृढ समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
बैठकमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मराज खतिवडाले सहकार्यको महत्व औंल्याउँदै भने, “हामी सार्वजनिक सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिन्छौं। उपचार–केन्द्रित र समन्वयात्मक दृष्टिकोण अपनाउँदा मात्र दिगो समाधान सम्भव हुन्छ। प्रहरी र स्वास्थ्य क्षेत्रबीचको सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्नेछ।”
यस बैठकले स्वास्थ्य र सुरक्षालाई सँगसँगै अघि बढाउने साझा यात्राको नयाँ आधार तयार गरेको सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।










