हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ मा रहेका टोल विकास संस्थाहरूको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ। बैठकले वडा क्षेत्रको विकास, सरसफाइ तथा सामुदायिक कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार बैठकले वडाभित्र रहेका सबै सडक सरसफाइ गर्ने तथा कच्ची, खाल्डाखुल्डी, हिलो र धुलोमुक्त बनाउने योजना २०८२ सालभित्र वडा कार्यालयमार्फत कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ।
त्यसैगरी, चैत १२ गते वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा “भान्सा नै औषधालय” कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा वडा नम्बर ४ अन्तर्गतका सबै टोल विकास संस्थाहरूको सहभागिता रहने जनाइएको छ।
बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन भइरहेको निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा तोकिएको मापदण्ड अनुसार प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ। साथै, वैशाख महिनामा टोल विकास संस्थाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति भएको छ।
यसैगरी, निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी तथा कार्यालयमा पहल गर्ने निर्णय गरिएको छ। टोल सरसफाइ तथा टोलमा देखिएका स–साना समस्याको समाधानका लागि प्रत्येक टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्रमा अध्ययन गर्ने पनि निर्णय गरिएको छ।
अवधि पुगेका तर साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थाहरूले तत्काल साधारणसभा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ।वडा नम्बर ४ मा हाल २६ वटा टोल विकास संस्था सक्रिय रहेका छन्।
बैठकमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठी र जगन्नाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी तथा महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं लगायत टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो।










