हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका २ सय ५० जनालाई एक युवकले एकछाकको भोजन गराएका छन्। बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका–४ का २९ वर्षीय रामकुमार गोले र उनका पिता वीरबहादुर गोले आश्रममा पुगेर भोजन गराएका हुन्।
विगत १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा कार्यरत गोलेले पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमार्फत अंग्रेजी विषयका सामग्रीहरू साझा गर्दै आएका छन्। उनका शैक्षिक भिडियोहरू दर्शकले रुचाउन थालेपछि उनले विगत ५ महिनादेखि टिकटक लाइभमार्फत नियमित रूपमा अंग्रेजी कक्षा सञ्चालन गर्दै आएका छन्।
अनलाइन माध्यमबाट सुरु गरेको शिक्षण कार्यबाट प्राप्त आम्दानीलाई उनले समाज सेवामा लगाउँदै आएका छन्। सोही कार्यलाई निरन्तरता दिँदै उनले बुधबार मानव सेवा आश्रममा २५ हजार रुपैयाँ बराबरको भोजन सहयोग गरेका हुन्।
साधारण परिवेशबाट उठेर प्रविधिको माध्यमबाट शिक्षा बाँड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने गोलेको प्रयास यतिबेला युवाहरुको लागि प्रेरणाको स्रोत बनेको छ।










