हेटौंडा । मनहरी गाउँपालिकामा सीमान्तकृत तथा चेपाङ समुदाय लक्षित शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ। हिमराइट्स मकवानपुरको आयोजना, मनहरी गाउँपालिकाको समन्वय र कोर इन्टरनेशनलको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले स्वागत मन्तव्य राख्दै संस्थाले शिक्षा बाट वञ्चित समुदायलाई लक्षित गरी विभिन्न सहयोग गर्दै आएको जानकारी दिइन्। उनले विशेषगरी सीमान्तकृत बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
मनहरी गाउँपालिका–३ का अध्यक्ष अनन्त प्रकाश अर्यालले हिमराइट्सले स्थानीय सीमान्तकृत परिवारलाई राहत तथा सहयोग प्रदान गरी महत्वपूर्ण योगदान गरेको भन्दै धन्यवाद व्यक्त गरे।
अभिभावक बिमला प्रजाले संस्थाबाट प्राप्त कुखुरा सहयोगले परिवारको जीविकोपार्जन सहज भएको र बालबालिकालाई पढाउन सहयोग पुगेको बताइन्। यस्तै कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीले कक्षा ६ देखि प्राप्त सहयोगले आर्थिक बोझ घटेको र पढाइ निरन्तर गर्न सहज भएको अनुभव साझा गरे।
हिमराइट्सका अनुसन्धानकर्ता सुशील श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न उपलब्धिहरू सार्वजनिक गरे। उनका अनुसार मनहरी–३ हाडीखोला र मनहरी–६ रुपाचुलीका ४९ परिवारलाई आयआर्जनका कार्यक्रममार्फत सहयोग गरिएको छ भने ५० परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ। साथै २३ बालबालिकालाई शैक्षिक सहयोग तथा ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको छ।
कार्यक्रम अन्तर्गत छात्रवृत्ति, ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण, बाख्रा तथा कुखुरा पालन, अदुवा खेती, खाद्यान्न तथा मौसमी कपडा वितरण जस्ता गतिविधि सञ्चालन गरिएका छन्। परियोजनाको मुख्य उद्देश्य सीमान्तकृत तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षा, नेतृत्व विकास तथा अभिभावकको जीविकोपार्जन सुदृढ बनाउनु रहेको छ।
सामाजिक लेखा परीक्षणले संस्थाको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता मूल्यांकन गर्नुका साथै सरोकारवालाबाट सुझाव संकलन गरी आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
परियोजनाबाट प्राप्त उपलब्धिअनुसार ५० बालबालिकाले छात्रवृत्ति मार्फत अध्ययन निरन्तरता दिएका छन् भने २७ बालबालिकाका लागि अतिरिक्त ट्युसन कक्षा सञ्चालन गरिएको छ। स्थानीय सरकार, शिक्षक, अभिभावक र बालबालिका बीच समन्वय सुदृढ भएको छ। साथै बालविवाह न्यूनिकरण, बालश्रम नियन्त्रण र विद्यालय छाड्ने दर घटाउन कार्यक्रम प्रभावकारी देखिएको छ।
आर्थिक सशक्तिकरणतर्फ बाख्रा तथा कुखुरा पालन सहयोगले परिवारको आम्दानी वृद्धि भई बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव परेको छ।
कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारे पनि केही चुनौतीहरू समेत देखिएका छन्। विद्यालयमा शिक्षक अभाव, गणित, अंग्रेजी र विज्ञान विषयमा विद्यार्थीहरूको कमजोरी, ट्युसन कक्षामा स्तरअनुसार विभाजनको आवश्यकता, शिक्षक तालिमको अभाव जस्ता समस्या औंल्याइएको छ।
त्यस्तै सीपमूलक तालिम कार्यक्रम विस्तार, स्थानीय सरकारको सक्रिय सहभागिता, तथा पशुपालनमा हुने क्षति न्यूनीकरणका लागि बीमा व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए।
हिमराइट्सका केन्द्रीय वित्तीय लेखा अधिकृत विजय कुमार महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी ३ वडा सदस्य हिरा बहादुर प्रजा,गाउँपालिका शिक्षा शाखा स्रोत शिक्षक विदुर विक्रम थापा,सगरमाथा आधारभूत विद्यालय प्रधानाध्यापक खडक बहादुर मुक्तान,प्रजा माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल बहादुर सुनार, गाउँपालिका सम्बन्धित निकायको प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक, सीमान्तकृत परिवारहरूको उपस्थिति थियो।












