हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरले नेपाली पत्रकारिताले नयाँ पुस्ता (जेनजी) को आन्दोलन र उनीहरूले चाहेको परिवर्तनको मर्मलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवं पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखाको सहकार्यमा बिहीबार कुलेखानीमा सम्पन्न ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिममा बोल्दै उनले भने, ‘समाजको ऐनाका रूपमा रहेको पत्रकारिता जगतले युवा पुस्ताको आकांक्षा र बदलिँदो सामाजिक चेतलाई सम्बोधन गर्न नसके सञ्चार क्षेत्र पछि पर्छ ।’
आजको पत्रकारिताले जेनजी आन्दोलन र त्यसले मार्गनिर्देश गरेको परिवर्तनको भावनालाई बुझेर सोही अनुरूप काम गर्न जरुरी रहेको अध्यक्ष मगरको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि रहेका मगरले समाज परिवर्तनको लागि पत्रकारहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । ‘समाज बिग्रनुमा पत्रकारको पनि भूमिका छ, किनकि समाजको छाया पत्रकारमा पनि पर्छ’, उनले भने, ‘मिडिया कमजोर भएमा अन्ततः लोकतन्त्र नै कमजोर हुने भएकाले हामी व्यावसायिक मर्यादामा बस्न आवश्यक छ ।’
मन्त्रालयका महाशाखा प्रमुख पदम ओझाको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई र मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वैशाख १६ र १७ गते सञ्चालित तालिममा शिव पुरी र अजय शर्माले एआईको परिचय, कन्टेन्ट क्रिएसन, प्रम्प्ट इन्जिनियरिङ र अडियो(भिडियो जेनेरेसनका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा ४० जना पत्रकारको सहभागिता थियो । सहभागीहरूले एआईको प्रयोग गरी तयार पारेका सामग्रीहरू समेत प्रस्तुत गरेका थिए ।










