संविधानका पिता शुशिल कोइराला : सादगी, सालिनता र सरलताको प्रतीक

एव मेवैक मात्मानं कार्ये यत्नेन योजयेत्।
एकमेव हि कार्यं स्यात् यल्लोकेऽनुस्मर्यते॥

अर्थात् : जीवनमा आफूलाई एउटै मात्र महत्वपूर्ण कार्यमा पूर्ण प्रयासपूर्वक लगाउनुहोस्। किनकि त्यही एक महान् कार्य हो, जसलाई संसारले युगौँसम्म सम्झिरहन्छ।

नेपालको संविधान निर्माणको ऐतिहासिक कार्य सम्पन्न गरी सम्पूर्ण नेपाली जनतालाई अपूर्व योगदान पुर्‍याउने सरल, सादगी र नैतिक आदर्शका प्रतीक नेता स्वर्गीय शुशिल कोइरालाको आज जन्मदिन हो। यस अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

शुशिल दासँगको मेरो निकटताको कारण केवल उहाँ नेपाली कांग्रेसको शीर्ष नेता हुनु मात्र होइन, चितवन क्षेत्र नं. ४ बाट दोस्रो संविधानसभा (२०७०) को निर्वाचनमा उम्मेदवारको रूपमा उहाँलाई नजिकबाट नियाल्ने अवसर पाउनु पनि हो। निर्वाचनको समयमा निर्वाचन आयोगले तोकेको खर्च मापदण्ड अनुसारको रकम जुटाउन केहीबेर कठिनाइ भएपछि आर्थिक समितिको संयोजकको हैसियतले मैले जानकारी गराउँदा उहाँले भनेको कुरा अझै स्मरणीय छ, “किन चाहियो पैसा ? के गर्नै हो पैसाले ? यदि म पैसा खर्च गरेर चुनाव लड्नुपर्ने भए, साथिहरू दुःख नगर्नुस्, म हार्न तयार छु। तर मेरो निष्ठाको कुरा जनतामाझ भन्नुहोस्, जनताको निर्णयमा मलाई पूर्ण विश्वास छ। पैसा खर्च गरेर राजनीति गरेर जित्नु भनेको जनताप्रति बेईमानी हो।”
उहाँको यो अडानले हामीलाई अझ ऊर्जाशील बनाएर जनतामाझ जान प्रेरित गर्‍यो।

नेपालको संविधान निर्माणको ऐतिहासिक कार्य सम्पन्न गरी सम्पूर्ण नेपाली जनतालाई अपूर्व योगदान पुर्‍याउने सरल, सादगी र नैतिक आदर्शका प्रतीक नेता स्वर्गीय शुशिल कोइरालाको आज जन्मदिन हो। यस अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

महिलाको सन्दर्भमा उहाँ प्रायः भन्नुहुन्थ्यो, “मलाई थाहा छ, तपाईंहरू घर–परिवार र छोराछोरीको जिम्मेवारी अँध्यारोमै सकेर बिहानैदेखि पार्टीको काममा लाग्नुहुन्छ। महिलालाई राजनीति गर्न सजिलो छैन, तर तपाईंहरूकै समस्या के भने, धेरैले यात्रा बीचमै राजनीति छोड्नुहुन्छ। यात्रा बीचमा नछोड्नुहोस्, निरन्तर अघि बढ्नुभयो भने एक दिन अवश्य सफल भइन्छ।”राजनीतिमा देखिएको विकृति, असमान प्रतिनिधित्व र अवसरका नाममा शक्तिशाली वर्गलाई प्राथमिकता दिने प्रवृत्तिले कहिलेकाहीँ निराश भए पनि, फेरि त्यही सादगी र सिद्धान्तका धनी शुशिल दालाई सम्झेर म अझै दृढतापूर्वक अघि बढिरहेकी छु।

प्रारम्भिक जीवन

शुशिल कोइरालाको जन्म १९९६ साल साउन २८ गते मोरङको विराटनगरमा पिता बोधप्रसाद र माता कुमुदिनी कोइरालाको जेठा छोराका रूपमा भयो। राजनीतिक परिवारमा जन्मिए पनि उहाँको जीवनशैली साधारण थियो। बी.पी. कोइरालाको विचारधाराबाट गहिरो प्रभावित शुशिल दा बाल्यकालदेखि नै साधारण, सात्विक र निष्ठावान जीवनमा हुर्कनुभयो।

सात्विकता र सादगी

प्रधानमन्त्री हुँदा समेत उहाँ सामान्य घरमै बस्ने, साधारण खाना खाने, ढाका टोपी र कोट–पाइन्टजस्तो सादा पहिरन लगाउने गर्नुहुन्थ्यो। पदमा रहँदा वा नरहँदा उहाँको जीवनशैलीमा कुनै भिन्नता देखिँदैनथ्यो।

राजनीतिक यात्रा

२०१५ सालपछि नेपाली कांग्रेसमा प्रवेश गरी पार्टीको प्रचार विभागमा सक्रिय हुनुभयो। तरुण पत्रिकाको सम्पादन गर्दै विचारधारा जनतासम्म पुर्‍याउनुभयो। २०१७ सालको संसद् विघटनपछि भारत निर्वासनमा रहँदै पार्टीको गोप्य पत्राचार, प्रचार–प्रसार र अन्तर्राष्ट्रिय समर्थन जुटाउनुभयो। भूमिगत अवस्थामा रहँदा संगठन विस्तार र कार्यकर्ता तालिममा संलग्न हुनुभयो। २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को आन्दोलनसम्म सहकार्य, संवाद र संगठन निर्माणमा उहाँको अग्रणी भूमिका रह्यो।२०४९ सालमा केन्द्रीय समितिमा प्रवेश गरी २०६६ सालमा पार्टी सभापतिसम्मको यात्रा पूरा गर्नुभयो। सभापतिको रूपमा गुटबन्दी अन्त्य, आन्तरिक लोकतन्त्र संस्थागत गर्ने, विधान परिमार्जन र समावेशी संरचना विकासमा उहाँको मुख्य योगदान रह्यो।

प्रधानमन्त्रीको रूपमा योगदान

२०७० सालको संविधानसभा निर्वाचनपछि २०७१ साल माघमा ३७औँ प्रधानमन्त्री बन्नुभएका शुशिल कोइरालाले संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिनुभयो। चार प्रधानमन्त्रीको पालामा जारी गर्न नसकेको संविधान उहाँको नेतृत्वमा २०७२ साल असोज ३ गते जारी भयो।

नैतिक आदर्श

पदमा रहँदा व्यक्तिगत सम्पत्ति नबढाउने दुर्लभ नेतामा उहाँ गनिनुहुन्छ। भ्रष्टाचार र निजी स्वार्थबाट टाढा रहँदै जनताको अधिकारलाई प्राथमिकता दिनुभयो।

निधन र स्मरण

२०७३ साल माघ ४ गते उहाँको निधन भयो। भारतका राष्ट्रपति प्रणव मुखर्जी, बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भूटानका प्रधानमन्त्री त्सेरिङ टोबायलगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले उहाँको निधनप्रति गहिरो संवेदना व्यक्त गर्दै उहाँलाई दूरदर्शी, सादगीपूर्ण र असाधारण नेता भने।शुशिल कोइरालाको जीवनले देखाउँछ, राजनीतिको आधार नै नैतिकता, सादगी र जनसेवामा निष्ठा हो। सत्तामा पुगेर वैभव प्रदर्शन गर्न सजिलो हुन्छ, तर सत्तामा रहँदा पनि साधारण जीवन बिताउन सक्ने नेताहरू दुर्लभ हुन्छन्। यही कारण उहाँलाई आज पनि “शुद्ध चरित्र, सादा जीवन, उच्च विचार”को पर्यायका रूपमा स्मरण गरिन्छ।

असतो मा सद्गमय…
तमसो मा ज्योतिर्गमय…


देवकी गौतम
नेपाली कांग्रेस, बागमती प्रदेश सदस्य
चितवन

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.