मेयरहरूबीच सामाजिक सञ्जालमा दोहोरी : हर्कको आलोचना, बालेनको मायालु जवाफ

हेटौंडा । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच सामाजिक सञ्जालमा बढ्दै गएको बयानबाजीले चर्चा पाएको छ।

पछिल्ला केही दिनयता मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष रूपमा काठमाडौंका मेयर बालेन्द्र साहमाथि तिखो टिप्पणी गर्दै आएका छन्। उनका स्टाटसहरूमा विदेशी प्रभाव, देशद्रोह, र स्वार्थी राजनीतिज्ञहरूको आलोचना प्रष्ट झल्किन्छ।

यसै सन्दर्भमा, मेयर बालेनले सामाजिक सञ्जालमा हर्कप्रति प्रेम व्यक्त गर्दै लेखेका थिए:

“डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन।
एकतर्फी नै सही, तर मेरो माया साँचो हो।
You are my true love.”

बालेनको यो भावनात्मक र व्यङ्ग्यात्मक स्टाटसले सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया ल्याएको छ। समर्थकहरूले यसलाई हाँस्यरूपमा लिए पनि, आलोचकहरूले यसलाई जिम्मेवार पदमा बसेका व्यक्तिहरूको अपरिपक्वता भन्दै आलोचना गरेका छन्।

यसको जवाफमा हर्क साम्पाङले झन् कडा शब्द प्रयोग गर्दै भनेका छन्:

“लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
देशले के कति गुमायो भन्ने थाहा छ ?
देश रोएको बेला ऊ हाँस्दै बसेको छ।

देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै love को कुरा !
मुखमा राम राम बगालीमा बम्फक !
कठै… मुतको न्यानोमा जूनी बिताउनेहरुको कमी छैन फेरि…”

हर्कको यस्तो कठोर भाषाशैली र बालेनको व्यङ्ग्यात्मक “प्रेम स्टाटस” दुबै सार्वजनिक बहसको विषय बनेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मेयरहरूबाट यस्ता बयानभन्दा समस्याको समाधान खोज्ने जिम्मेवार अभिव्यक्तिको अपेक्षा राखिरहेका छन्।

नेताहरूको व्यक्तिगत भनाभन सार्वजनिक मञ्चमा देखिनु नेपाली राजनीतिक संस्कृतिका लागि नयाँ कुरा होइन। तर, यो विवादले सामाजिक सञ्जालमा नेताहरूको भूमिकामाथि फेरि बहस सुरु गरिदिएको छ— के मेयरहरू यस्ता स्टाटस लेख्दै बस्ने कि सहरको समस्या समाधानमा जुट्ने?

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.