जीवनको यात्रामा सम्बन्ध, भोगाइ र उतारचढाव

जीवन एउटा अन्त्य नदेखिने यात्रा हो। यस यात्रामा न त सबै बाटा सिधा हुन्छन्, न त सबै मोडहरू सहज। हरेक दिन, हरेक पल जीवन हामीसँग ठोक्किन आइरहन्छ- कहिले मायालु स्पर्श बनेर, कहिले कठोर चोट बनेर। साँच्चै जीवन दोबाटो जस्तै रहेछ, जहाँ हरेक मान्छे ठोक्किँदै अगाडि बढिरहेको हुन्छ। कोही ठोक्किएर चोट दिन्छन्, कोही ठोक्किँदै अनुभव छोडेर जान्छन्। चोटले आँसु दिन्छ, अनुभवले आँखा खोलिदिन्छ। यही चोट र अनुभवको संगालो नै जीवनको वास्तविक कथा हो।

यो यात्रामा हामी विभिन्न प्रकारका मानिसहरू भेट्छौँ। केही मानिसहरू जीवनसँग मेल खाने हुन्छन्-हाम्रो सोच, भावना र मौनतासमेत बुझिदिने। उनीहरूसँग समय बिताउँदा शब्दको आवश्यकता पर्दैन, केवल साथमै हुनु पर्याप्त हुन्छ। थाकेको मनलाई उनीहरूको उपस्थितिले शीतलता दिन्छ। यस्ता मानिसहरू जीवनका सहयात्री हुन्, जसले अँध्यारो बाटोमा पनि उज्यालो देखाइदिन्छन्। जब संसार भारी लाग्छ, उनीहरूको एक मुस्कानले जीवन फेरि बोक्न सकिने बनाइदिन्छ।

तर जीवन सधैँ यति सहज हुँदैन। यही यात्रामा अप्ठ्यारा आफ्ना पनि भेटिन्छन्। रगतको नाताले, सामाजिक बन्धनले वा परिस्थितिले नजिक भएका मानिसहरू कहिलेकाहीँ सबैभन्दा टाढा लाग्छन्। उनीहरूकै शब्दले मन चिरिन्छ, उनीहरूकै व्यवहारले आँखा भिज्छ। मन लाग्छ सबै कुरा पोखिदिऊँ, तर जब जवाफ मौन वा उपेक्षा हुन्छ, तब शब्दहरू पनि बोझ जस्तै लाग्छन्। आफूलाई रुवाइरहने, मन बिझाइरहने मानिससँग किन ठोक्किएँ भन्ने प्रश्नले मन पोल्छ। तर,मन कस्तो अडिग हुन्छ-एक पटक कसैलाई आफ्नो बनाइसकेपछि, जतिसुकै चोट पाए पनि छोड्न मान्दैन।

यिनै अप्ठ्यारा सम्बन्धहरूले जीवनका कठिन पाठ सिकाउँछन्। सहनशीलता, धैर्य र आत्मसंयम यिनै चोटहरूबाट जन्मिन्छन्। कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा घाउ आफ्नैबाट लाग्छन्, र ती घाउहरूले नै हामीलाई बलियो बनाउँछन्। हरेक उतारचढाव जीवनसँग ठोक्किन आइपुग्छ, तिता अनुभव बटुलेर जान्छ, र हामी फेरि आफ्नै भित्र आफ्नैसँग लड्दै अगाडि बढ्छौँ। खै, कहिलेसम्म कसले हात थाम्ने र कहिले कसले खुट्टा तान्ने- यो अनिश्चिततामै जीवन दौडिरहेको हुन्छ।

पराइहसँगको सम्बन्ध अझ रोचक हुन्छ। सुरुमा अपरिचित लाग्ने अनुहारहरू समयसँगै भरोसाको आधार बन्छन्। यात्रामा भेटिएका सहयात्री, कठिन घडीमा साथ दिने अन्जान हात, वा केवल सान्त्वनाका दुई शब्द-यिनले जीवनलाई गहिरो अर्थ दिन्छन्। कहिलेकाहीँ आफ्नाभन्दा पराइले दिएको साथ बढी साँचो र निस्वार्थ लाग्छ। उनीहरू न त केही अपेक्षा राख्छन्, न त कुनै स्वार्थ। केवल मानवीय संवेदनाले जोडिएको सम्बन्ध—यही नै जीवनको सुन्दर पक्ष हो।

जीवनमा केही मानिसहरू यस्ता पनि हुन्छन्, जो बिचमै भेटिन्छन्। न त स्थायी हुन्छन्, न त पूर्ण रूपमा भुल्न सकिने। छोटो समयमै गहिरो छाप छोडेर जाने यस्ता सम्बन्धहरूले प्रेम, विश्वास, पीडा र आशाको नयाँ अर्थ सिकाउँछन्। उनीहरूसँगको भोगाइले जीवनको दिशा नै मोडिदिन्छ। कहिलेकाहीँ मीठो सम्झना बनेर, कहिलेकाहीँ नबोलिने पीडा बनेर उनीहरू मनको कुनै कुनामा सधैँ बसिरहन्छन्।

यी सबै सम्बन्ध र भोगाइबीच जीवनले बारम्बार ठक्कर दिन्छ। सपनाहरू चकनाचुर हुन्छन्, प्रयासहरू असफल हुन्छन्, र मन बारम्बार थाक्छ। तर यिनै ठक्करहरूले हामीलाई उठ्न सिकाउँछन्। दुःखले संवेदनशील बनाउँछ, संघर्षले आत्मविश्वास बढाउँछ, र असफलताले नयाँ बाटो खोज्न प्रेरित गर्छ। जीवनको उतारचढाव बिना खुशीको मूल्य बुझ्न सकिँदैन।

कहिलेकाहीँ मन यही सोचेर शान्त हुन्छ-जीवन भनेको सम्बन्धहरूको संगालो, भोगाइहरूको पुस्तक र उतारचढावको पाठशाला हो। हरेक भेट, हरेक बिछोड र हरेक ठेसले हामीलाई परिपक्व बनाउँदै लैजान्छ। यही विविधता, यही पीडा, यही असहजता र यही अनुभूतिको मिश्रण नै जीवनको वास्तविक सौन्दर्य हो। चाहना केवल यति हो-यो यात्रा फेरि त्यस्तो मोडमा नपुगोस्, जहाँ आफ्नै मनलाई आफैंले दिनदिनै जलाउन परोस्। फेरि यही यात्राको यात्री बन्नु छ, जहाँ ठेस लागे पनि गहिरो दाग नबसोस्, र जीवन फेरि बाँच्न लायक लागिरहोस्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.