सामाजिक अभियन्ता आशिका तामाङ मकवानपुर आइपुगेकी छन्। मकवानपुर जिल्लाका विभिन्न स्थानको अस्तव्यस्त अवस्था र स्थानीय समस्याहरूको उजागर गर्दै आएकी उनी सामाजिक सञ्जालमा बेलाबेला चर्चामा आइरहन्छिन्। अहिले भने मकवानपुरगढी दरबारमा राखिएको ‘एकदन्ते सेतो हात्ती’ को तस्वीरसँगै गरिएको उनको टिप्पणी भाइरल बनेको छ।
आशिकाले सामाजिक सञ्जालमा उक्त सेतो हात्तीको तस्बिर पोस्ट गर्दै “अर्को बंगारा खोइ?” भन्ने क्याप्सन लेखेकी छन्। यस क्याप्सनले इतिहासप्रति गम्भीर प्रश्न उठाएको भन्दै कतिपयले समर्थन जनाएका छन् भने केहीले यो टिप्पणीलाई इतिहासप्रति गम्भीर अनविज्ञता भन्दै आलोचना गरेका छन्।
ऐतिहासिक पृष्ठभूमि
वि.सं. १८१९ माघ १० गते, गोर्खा राज्यको फौजले मकवानपुरगढीमा मुगल बादशाह मिरकासिमको नेतृत्वमा आएको अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक दिन हो। यस अवसरलाई सम्झँदै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढीमा नेपाली राष्ट्रिय झण्डोत्तोलनसँगै ‘एकदन्ते सेतो हात्ती’ को अनावरण गरेका थिए।
सेतो हात्तीको प्रतिमा तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने हात्तीको सम्झनामा निर्माण गरिएको हो। हेटौंडाको बुद्धचोकबाट १६ किलोमिटर पूर्वमा रहेको ऐतिहासिक गढी क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी स्थानीयवासीहरूले हात्तीको विषयमा निकै कौतूहलता देखाएका थिए।
पृथ्वीनारायण शाह र मकवानपुरको सम्बन्ध
इतिहासकार प्रा. डा. दिनेशराज पन्तका अनुसार, मकवानपुरगढी पृथ्वीनारायण शाहको ससुराली हो। उनले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गरेका थिए। कन्यादानको अवसरमा राजा हेमकर्णले छोरीलाई गजमोतीको हार र ज्वाइँलाई एकदन्ते हात्तीमा चढाएका थिए।
तर पछि पृथ्वीनारायण शाहले ती गजमोतीको हार र हात्ती फिर्ता माग्दा राजा हेमकर्णका छोरा दिग्बन्धन सेनले दिन मानेनन्। यसबाट सम्बन्ध बिग्रिएर विवाद भयो र पृथ्वीनारायण शाहले मकवानपुरगढीमा आक्रमण गरे। जनश्रुति अनुसार, त्यही विवादित हात्ती गढीमै मरेको थियो। अहिलेको सेतो हात्तीको प्रतिमा त्यही स्मृतिमा निर्माण गरिएको हो।
मकवानपुरगढी गाउँपालिकाले सो एकदन्ते सेतो हात्तीको मूर्ति निर्माण गराएको हो।
सामाजिक सञ्जालमा बहस
आशिका तामांगले पोस्ट गरेको तस्बिर र क्याप्सनले अहिले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरिरहेको छ। केहीले यो विषयमा थप ऐतिहासिक अध्ययन र अन्वेषणको खाँचो देखिरहेका छन् भने अरूले यसलाई इतिहासप्रति अनभिज्ञताको प्रदर्शन मानेका छन्।
यो भाइरल प्रसङ्ग इतिहासप्रति हाम्रो सरोकार, जिज्ञासा र मूल्याङ्कन गर्ने दृष्टिकोणबारे पुनः सोच्न बाध्य बनाउने खालको बनेको छ। आशिका तामाङको यो टिप्पणी इतिहासको जानकारीविहीनता हो वा यो भाइरल प्रसंगले इतिहासप्रतिको हाम्रो सरोकार, जिज्ञासा र मूल्याङ्कन गर्ने दृष्टिकोणलाई पुनः सोच्न बाध्य बनाएको छ। आशिका तामाङको यो टिप्पणी इतिहासप्रतिको जानकारीविहीनता हो वा सामाजिक सञ्जालमा भाइरल भइरहने उनको अर्को एउटा ‘फण्डा’, यसको मूल्याङ्कन गर्ने जिम्मा अब सामाजिक सञ्जाल प्रयोगकर्ताकै काँधमा आएको छ।











