हेटौंडा ।हेटौंडा–५ पिप्ले निवासी ४४ वर्षीय सुदिप ठकुरी विगत १७ वर्षदेखि चस्मा व्यवसायमा संलग्न छन्। इमानदार परिश्रम, धैर्य र लगनशीलताको कारण उनी आज हेटौंडाका सफल व्यवसायीका रूपमा परिचित बनेका छन्।
१६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेपछि ठकुरीले आफ्नै काकाको चस्मा पसलमा काम सुरु गरेका थिए। त्यसपछि उनी करिब आठ वर्षसम्म बिरगंजस्थित केडिया आँखा अस्पताल, परमानिपुरमा कार्यरत रहे। अनुभव र सीप सँगाल्दै उनले सन् २००८ (वि.सं. २०६५) मा हेटौंडा फर्किए।
त्यही वर्ष हेटौंडा–१० मा तिलगंगा आँखा अस्पताल स्थापना भएपछि उनले अस्पताल नजिकै ‘शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स’ स्थापना गरे। सुरुमा एक्लै सञ्चालन गरेको चस्मा पसल अहिले वरिपरि ८ वटा विस्तार भइसकेका छन्।
ठकुरी भन्छन्, “सुरुवातमा कठिनाइ धेरै थियो, तर इमानदारी र निरन्तर परिश्रमले नै आज यो स्थानमा पुर्यायो।”
करिब एक वर्षअघि उनले हेटौंडा–४, स्कुल रोडमा डाक्टरको सल्लाहसहितको नयाँ सेवा केन्द्र ‘आइ अप्टिक एण्ड केयर सेन्टर’ पनि सञ्चालनमा ल्याए। उक्त केन्द्रमा दृष्टि परीक्षणदेखि लिएर आधुनिक चस्मा सेवा उपलब्ध गराइन्छ।
उनकी श्रीमती अनिता गोदार पनि हाल सोही पेशामा सक्रिय छन्। दम्पती दुवै मिलेर हेटौंडामा आधुनिक र गुणस्तरीय दृष्टि सेवा विस्तार गर्दै आएका छन्।
२४ वर्षको व्यावसायिक यात्रामा ठकुरीले चस्मा बनाउनेदेखि लिएर सम्पूर्ण काम आफैं सिकेका छन्। उनी भन्छन्, “२४ वर्ष यस पेशामा बिताएँ, सन्तुष्ट छु। विदेश जाने सोच कहिल्यै आएन, किनभने मेहनत गरे आफ्नै देशमा पनि सफल हुन सकिन्छ।”
ठकुरी युवाहरुलाई आत्मनिर्भर बन्न र देशमै अवसर खोज्न आग्रह गर्छन्। उनी भन्छन्, “दिनभर चिया बेच्ने युवक पनि सन्तुष्ट हुन सक्छ, तर हामीले धैर्य गर्न नजानेका कारण मात्रै विदेशतिर भागिरहेका छौं। ठुलो सपना बोकेर तत्कालै धेरै पैसा कमाउने सोचभन्दा सानो कामबाट सुरु गरेर इमानदार मेहनत गर्न सके आफ्नै माटोमा रमाउन सकिन्छ।”
हेटौंडाको व्यवसायिक क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल ठकुरी अहिले पेशागत र पारिवारिक दुवै जीवनमा सन्तुष्ट छन्। मेहनत, इमानदारी र आत्मनिर्भर सोचका कारण उनी आजका युवाका लागि प्रेरणादायी व्यक्तित्व बनेका छन्।









