मकवानपुर । बागमती प्रदेश सरकारले चार जना सचिवहरूको पदस्थापन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका तीन जना र प्रदेशमै कार्यरत एक सहसचिवलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सहसचिव महेश भट्टराईलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनाइएको छ। त्यसैगरी नारायण मैनालीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र अनिता निरौलालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सङ्घीय सरकारले गत साता सरुवा गरेका चारमध्ये तीन जना सहसचिव प्रदेशमा हाजिर भइसकेका छन् भने एक जना अझै हाजिर भएका छैनन्। यसैबीच श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव हेमराज भुसाललाई नीति तथा योजना आयोगमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद् बैठकले त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।










