बागमती प्रदेशको राजनीतिक मैदान फेरि एकपटक तातिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदका लागि औपचारिक दाबी पेस गरेका छन् । उनले आफ्ना पक्षमा बहुमत सदस्यको समर्थन रहेको दाबी गर्दै सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सरकार गठनको दाबी पेस गरेका हुन् ।
केही घण्टा अघिमात्रै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८(२) अनुसार बहुमत प्राप्त प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनको आह्वान गरेको थियो ।
बानियाँ नेपाली कांग्रेसभित्र शालीन, समन्वयकारी र दूरदृष्टि भएका नेताका रूपमा चिनिन्छन् । उनी पूर्व राज्यमन्त्रीसमेत भइसकेका छन् र प्रदेश राजनीतिमा उनको प्रभाव उल्लेख्य मानिन्छ । पछिल्लो समय बागमती प्रदेशमा कांग्रेसभित्रै नेतृत्वको पुनः परिकल्पना भइरहेका बेला बानियाँको नाम एक बलियो विकल्पका रूपमा अघि आएको हो ।यसअघि नेकपा (एमाले) का बहादुर सिंह लामा नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकार अस्थिर बनेको थियो । उक्त प्रस्ताव दर्ता भएलगत्तै वैकल्पिक सरकारको तयारी स्वरूप नयाँ सत्ता समीकरण बन्न थालेको हो ।
अब प्रदेश प्रमुखको निर्णयपछि इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार बन्ने वा अर्कै समीकरण खोजिने भन्ने विषय केही दिनभित्रै स्पष्ट हुने छ । बागमती प्रदेश अहिले राजनीतिक अनिश्चितताको मोडमा उभिएको छ । तर, स्थायित्व र जनताको अपेक्षा अनुरूप विकास, सुशासन र प्रभावकारी सेवा प्रवाह गर्ने सरकार बन्ने विश्वास जनाइएको छ ।










