बागमती प्रदेश सरकारको आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा आएर रद्द गरिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए। त्यसअनुसार उनी काठमाडौँबाट हेटौंडा समेत आइपुगेका थिए। तर प्रमुख सचिव भुपाल बराल काठमाडौँमै रहेका कारण बैठक हुन सकेन।
मुख्यमन्त्री लामाले प्रमुख सचिवको अनुपस्थितिमा बैठक गर्न चाहेपनि अन्य सचिवहरूले त्यसो नगर्न सुझाएपछि बैठक अन्ततः स्थगित गरिएको हो। स्रोतका अनुसार, संवैधानिक प्रक्रिया मिचिने भन्दै सचिवहरूले प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद् बैठक राख्न नमिल्ने धारणा राखेका थिए।
बैठक स्थगन भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले कार्यकालभित्र भएका कामको विवरण सार्वजनिक गर्नुका साथै राजीनामाको घोषणा समेत गर्न सक्ने स्रोतको भनाइ छ।
नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्ताव मार्फत हटाइएका लामा पछिल्लो समय आन्तरिक दबाबमा छन्। नेता चयनका लागि भएको निर्वाचनमा पराजयपछि उनले राजीनामा दिनुपर्ने चर्को दबाब खेपिरहेका छन् ।










