सुर्खेत प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक रोजगारी दिने प्रलोभनमा पारी करोडौं रुपैयाँ ठगी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा स्काई ड्रिम इन्टरपेनर्स प्रालिका सञ्चालक नरेश बोहोरा र कम्पनीका व्यवस्थापक तथा कर्मचारीहरू छन्।
पक्राउ पर्नेमा डोटी, दार्चुला, अछाम, बैतडी र कञ्चनपुरका २० देखि २६ वर्ष उमेरका युवा–युवती छन्। उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूले स्काई ड्रिम इन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीमार्फत सुर्खेतको मुलपानीमा कार्यालय स्थापना गरी रोजगारीको नाममा नेटवर्किङ शैलीमा ठगी गरेका थिए। प्रहरीका अनुसार कम्पनीमा सदस्यता लिँदा वार्षिक २० हजार तिर्नुपर्ने, सिप र भाषा सिकाइने, होस्टेलमा बस्न पाइने र आकर्षक तलबसहितको जागिर दिइने भनिन्थ्यो। तर, सदस्य बनेपछि उनीहरूलाई नयाँ सदस्य थप्न लगाइन्थ्यो। प्रत्येक नयाँ सदस्यले अर्को सदस्य भित्र्याउँदा कमीशन पाइने लोभ देखाइन्थ्यो। यस्तै क्रममा युवायुवतीसँग ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुली गरिएको थियो। प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, सुरुमा पीडितहरू आफू ठगिएको महसुस नै नगर्ने अवस्था थियो। पछि उपभोक्ता हकहित मञ्चको सहयोगमा प्रहरीको प्रयासपछि पीडितहरूले उजुरी दिन थालेका थिए।
काठमाडौँसम्म पैसा पठाइएको प्रमाण
जिल्ला प्रहरी कार्यालयका अनुसार संकलित रकम स्काई नेटवर्कमार्फत काठमाडौंस्थित ग्लोबल ओरियन्स कम्पनीमा पठाइने गरिएको थियो। अझै पनि केही पीडित सम्पर्कमा आउन बाँकी छन्। हालसम्म ५० भन्दा बढी पीडित रहेको र ठगी रकम करोडौं पुगेको अनुमान छ। प्रहरीले कार्यालयमा छापा मारेर कागजात र प्रमाणहरू संकलन गरिसकेको छ।
ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









