महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ साउन १७ गते हेटौंडामा सम्मानित हुने भएकी छन्। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरद्वारा आयोजित कार्यक्रममा हेटौंडेली खेलप्रेमीले साम्बासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछन्।
साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ, जसको प्रायोजन शिक्षाविद् पुरणबहादुर जोशीले गरेका हुन्। नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेकी साम्बा हाल न्यूजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छन्।
कार्यक्रममा उनको संघर्ष, सफलता र प्रेरणादायी यात्राबारे प्रत्यक्ष रूपमा बुझ्न सकिनेछ। सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङका अनुसार, यस्ता सम्मानले महिला खेलकुदको मूल्य वृद्धि मात्र नभई सशक्तिकरण र नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्









