हेटौंडा । अज्ञात व्यक्तिको छुरा प्रहारबाट झापामा एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बिर्तामोड नगरपालिका -७ का १८ वर्षीय वर्षात राजवंशी भएको गरामनी प्रहरीले जनाएको छ । राजवंशीलाई कुटपिट पछि हत्या गर्ने आपराधिक मनसायले छुरा प्रहार गरिएको अस्थायी प्रहरी चौकी गरामनीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
बिर्तामोड-८ गरामनीमा लागेको मेलाबाट फिर्ने क्रममा शुक्रबार (हिजो) साँझ ७ बजेतिर छुरा प्रहार भएको प्रहरीले जनाएको छ । लङ्गुरबुर्जा (डाइस) खेलाइरहेको स्थान हल्दिबारी जाने बाटोमा उनलाई छुरा प्रहार भएको हो । जहाँ डाइसका दर्जन बढी पल्ला (पर्दा) थापिएको थियोे । गरामनी मेलामा समेत लाखौं हारजीत हुने कानुन बर्जित खेल डाइस खुलेआम खेलाइएको थियो ।
प्रहारबाट घाइते राजवंशीको अहिले विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पिठ्युँमा गहिरो चोट लागेका राजवंशीलाई घटना लगत्तै प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियोे । त्यहाँ उपचार असम्भव भएपछि विएण्डसी रिफर गरिएको हो ।
छुरा प्रहार गर्ने व्यक्तिको पहिचान र खोजीको लागि गरामनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको नेतृत्वको तीन सदस्यीय टोली परिचालित भएको छ । यो समाचार तयार पार्दासम्म कोही पनि पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।









