मकवानपुर । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मकवानपुरमा यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्।
खराब मौसमका कारण यात्रा जोखिमपूर्ण भएपछि हेटौंडाबाट विभिन्न गन्तव्यतर्फ निस्किएका निजी तथा सार्वजनिक सवारीसाधनलाई प्रहरीले चौकीटोलस्थित प्रहरी चौकी अगाडिबाट फर्काइरहेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, सशस्त्र प्रहरी लगायतको टोलीले चौकी अगाडिबाटै सवारीसाधन फर्काउने कार्यमा खटिएका छन्।
सीडीओ श्रेष्ठका अनुसार यो कार्य गृह मन्त्रालयको निर्देशनअनुसार जनताको सुरक्षालाई मध्यनजर गर्दै गरिएको हो। “हामी जोखिम उच्च रहेको कारण सवारीसाधन रोकिरहेका छौं,” श्रेष्ठले भनिन्, “सुरक्षाका लागि हामी सडकमा खटिएका हौं।”
काठमाडौँतर्फ गइरहेका धेरै सवारीसाधनलाई चौकीटोलबाटै फर्काइए पनि केहीले खोलाको बाटो प्रयोग गरेर भैसेसम्म पुगेका थिए। तर, त्यस्ता सवारीसाधनलाई पनि सीडीओ, एसपीसहितको टोली भैँसे पुगेर फिर्ता पठाएको बताइएको छ।
एसपी बोहराका अनुसार केही चालकले प्रहरीलाई छल्दै वैकल्पिक बाटो प्रयोग गरे पनि उनीहरूको सुरक्षाको लागि नै फिर्ता पठाइएको हो। “हामी उहाँहरूको सुरक्षाकै लागि रोक्ने र फर्काउने काम गरिरहेका छौँ,” एसपीले भने।
हाल विभिन्न स्थानमा चेकजाँचका काम तीव्र पारिएको छ भने स्थानीयबाहेक टाढा जाने सबै सवारीसाधनलाई रोकिने व्यवस्था गरिएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।











