मकवानपुर । मंगलबार बिहान करिब ६:४५ बजे मकवानपुरको बागमती गाउँपालिका–४ स्थित हरामीचोकमा एक सवारी दुर्घटना भएको छ। मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौंडा तर्फ गइरहेको इभी गाडी (म.प्र.०२–००१ ज ००७२) ले भित्री बाटोबाट राजमार्गमा निस्कने क्रममा रहेको मोटरसाइकल (ना ५ प ५५५८) लाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करपछि इभी गाडी अनियन्त्रित भई करिब १५ फिट तलको खोल्सामा खसेको थियो। दुर्घटनामा इभी गाडीमा सवार यात्रु र चालकसहित १६ जना घाइते भएका छन्।
घटनाको जानकारी पाउँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाएको छ।
घाइतेमध्ये मिकशा पौडेललाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









