काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भदौ २४ गते देशव्यापी विध्वंसकारी घटनाबारे करिब एक महिनापछि विस्तृत स्पष्टीकरण दिएका छन् ।
सो अवसरमा उनले सिंहदरबार र अन्य महत्वपूर्ण संरचनामा आगो लाग्दा दमकल नपठाएको भन्ने आरोप अस्वीकार गर्दै फेसबुकमार्फत आफ्नो पक्ष प्रस्तुत गरेका हुन् ।
मेयर शाहले लेखेका छन् , ‘देशमा सरकार नभएको, सुरक्षा संयन्त्र ठप्प भएको, प्रहरी र सेना सीमित कार्यमा मात्र लाग्न सक्ने अवस्था थियो, तर काठमाडौं महानगरपालिकाको टिम दिन–रात खटेर आगो निभाउने, घाइतेको उपचार, खाना, औषधि, रगत व्यवस्थापन, लास व्यवस्थापन, र उद्धार कार्यमा सक्रिय रहेको थियो।’
शाहले घटनाको क्रममा दमकलको सीमित संख्या र जनशक्तिसम्बन्धी स्पष्टता दिँदै लेखेका छन् :-
न्युरोड, बालाजु, रामहिटीमा जम्मा ५ वटा दमकल सञ्चालनमा थिए।
प्रत्येक शिफ्टमा १ दमकलमा ३ जनाले मात्रै काम गर्ने अवस्था।
२४ गते साझदेखि २५ गतेसम्म सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिल्लीबजार कारागार, सर्वोच्च अदालत परिसर लगायत महत्वपूर्ण स्थानमा दमकल खटाइएको।
उद्धार कार्यमा नेपाली सेना, नगरप्रहरी, स्वास्थ्यकर्मी र अन्य निकायको सहकार्य रहेको।
शाहले आगो निभाउने मात्र नभई घाइतेको उपचार, स्वास्थ्यकर्मी व्यवस्थापन, लास व्यवस्थापन, बिरामी र बिरामी कुरुवाको खाजा/खाना, आवस्यक लजिस्टिक र सुरक्षा व्यवस्था समेत महानगरको टिमले व्यवस्थापन गरेको बताउनु भयाे ।
शाहले सबै नागरिक र मिडियालाई तथ्य र डाटा आधारित समाचारमात्र लेख्न, अफवाह फैलाउन नगर्न अनुरोध गर्दै भनेका छन् , “सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।”
उनले आफ्नो टिमलाई जिउज्यानको जोखिम मोल्दै खटिएका भन्दै सम्मान जनाउन आग्रह गर्दै भनेका छन् , महानगरको टीमले कुनै पनि जिम्मेवारीबाट भागेको छैन, जिम्मेवारी सधैं पूरा गर्नेछ।
यसैबीच आजै नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दर्ता गरेको छ।
अखिलका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले प्रहरीमा निवेदन पेश गर्दै राष्ट्रिय धरोहरमा आगजनी, दण्डहीनतालाई प्रश्रय दिने कार्य भएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको हो।









