बाल अधिकारको सुनिश्चित गर्नु तिनै तहको सरकार र नागरिक समाज संस्थाको दायित्व

बालबालिका लाई कुनै पनि राष्ट्रको मेरुदण्ड र भविष्यका आधारस्तम्भ को रुपमा लिईन्छ । उनीहरूको शारीरिक, मानसिक, सामाजिक बौद्धिक तथा संबेगात्मक विकासलाई सुनिश्चित नगरी राष्ट्रको दिगो विकास हुन नसक्ने बारे संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धी र नेपालको कानुनले बताएको पाईन्छ । यस दृष्टिकोणले बाल अधिकारको सुनिश्चित गर्नु सामाजिक तथा नैतिक कर्तव्य, कानूनी र संवैधानिक दायित्व पनि हो । राष्ट्रको दीर्घकालीन विकास बालमैत्री वातावरणमा निर्भर हुन्छ । यदि बालबालिका शिक्षा र स्वास्थ्यबाट वञ्चित भए, हिंसा वा शोषणमा परे, बालश्रम र बालबिबाह बढदै गए भने राष्ट्रको भविष्य अन्धकारमय हुन्छ भन्ने बोध सबैमा हुन आबश्यक पर्दछ । त्यसैले बालबालिकामा गरिएको लगानी केवल व्यक्तिगत मात्र नभई राष्ट्रको सामूहिक भविष्य सुरक्षित गर्ने माध्यम हो । यस बारेमा तिनैतहको सरकार र बिकाशका साझेदार संस्थाहरुले नागरिक समाज सस्थाहरु संग सहकार्य गर्दै लगानी र कार्ययोजनाको आधारमा प्रभाबकारी रुपमा कार्यसम्पादन गर्नु अति आबश्यक देखिएको छ । नेपालको संविधान २०७२ले बालबालिकाको अधिकारलाई मौलिक हकको रूपमा राखेकोछ । नेपाल बाल अधिकार महासन्धीको पक्ष राष्ट्र भएको नाताले बाल अधिकारको संरक्षण, बिकाश र सहभागिताको सुनिश्चितताको लागी बाल बालिका सम्बन्धी ऐन २०७५ र नियमाबली २०७८ तयार गरि कार्यान्वयनमा ल्याएको छ ।
बालबालिकाको अवस्था अपेक्षाकृत सुधार भए पनि अझै बाल विवाह, बाल श्रम, लैङ्गिक विभेद, जातिय बिभेद, यौन हिंसाको अन्त्य हुन सकेको छैन । उनीहरुमा पोषण र स्वास्थ्यमा पहुँचको अभाव जस्ता समस्या देखिएका छन् । यी समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकार तथा नागरिक समाजमा स्थापित संस्थाहरूले आ–आफ्नो थिम र क्षेत्राधिकारका आधारमा भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
नेपालमा बाल अधिकारको अवस्था सुधारोन्मुख पाईन्छ । बिगतको तुलनामा संधिय तहमा राष्ट्रिय बाल अधिकार परिषद, प्रदेशमा प्रदेश बाल अधिकार समिती र स्थानिय तहमा स्थानिय बाल अधिकार समिती गठन भई आशालाग्दो काम भईरहको पाईन्छ । स्थानिय पालिकाहरु बाल मैत्री र बालश्रम मुक्त स्थानिय तह घोषणा हुनु लाई प्रभाबकारी कार्यसम्पादनमा लिन सकिन्छ । शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगती भए पनि अझै सम्पूर्ण बालबालिकाको पहुँच समान भएको पाईदैन । आधारभूत शिक्षा निःशुल्क र अनिवार्य गरिएको भए पनि केही प्रतिशत बालबालिका अझै विद्यालय बाहिर भएको पाईन्छ । यसैगरि नेपालमा बालश्रमको समस्या गम्भीर रुपमा देखिएको छ । हुनत बिगतको अनुपातमा बालश्रम घट्दो छ तर निमिट्यान्न भने हुन सकेको छैन । नेपालमा करिब एघार लाख बालबालिका श्रममा संलग्न भएको तथ्याकंले देखाएको छ । विशेष गरी कृषि क्षेत्र, घरेलु श्रम, होटल–बार, मनोरन्जको क्षेत्र, ईँटा भट्टा र भरियाको रुपमा उनीहरू शोषणमा परिरहेको पाईन्छ । नेपालको सन्दर्भमा बाल विवाह र लैङ्गिक विभेद अझै गहिरो समस्याको रुपमा देखिएकोछ । कानूनी ब्यबस्था अनुरुप २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाईने ब्यबस्था भए पनि ठूलो संख्यामा बालबालिकाको १८ वर्ष नपुग्दै विवाह भएको देखिन्छ । बाल बिबाह अन्त्य गर्न एकल कार्यक्रम भन्दा पनी लैगिंक रुपान्तरणकारी दृष्टिकोणको आधारमा कार्ययोजना अनुरुपको कार्य सम्पादन गर्नु पर्छ । बाल बिबाह र उमेर नपुग्दै हुने बिबाहले बालिकाको शिक्षा र स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बारे बिधालयमा भएको ड्रप आउटको र स्वास्थ्यको प्रतिबेदनमा स्पष्ट देख्न सकिन्छ ।
नेपाल संघीय संरचनामा प्रवेश गरेपछि बाल अधिकार सुनिश्चिततामा संघ, प्रदेश र स्थानीय सरकारबीच जिम्मेबारी बाडफाड गरिएको छ । यसैको आधारमा तीनै तहको सरकारले समन्वय र सहकार्य गर्दै बाल अधिकारको सुनिश्चित गरिने कार्य गर्नु पर्दछ ।
१. संघीय सरकारको भूमिका
संघीय सरकारले ऐन, नीतिका साथै बिभिन्न कानुन निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रतिबद्धता र बाल अधिकार महान्धीको कार्यान्वयनमा जिम्मेवार भुमिका रहेको हुन्छ । बालबालिका सम्बन्धी ऐन, बाल संरक्षण नीति, शिक्षा नीति, स्वास्थ्य रणनीति जस्ता कार्यक्रम संघीय सरकारकै पहलमा अघि बढाइने गरिन्छ । बाल अधिकार महासन्धी तथा अन्य अन्तर्राष्ट्रिय सन्धिहरूको पालनामा संघीय सरकारको जिम्मेवारी भित्र पर्दछ । राष्ट्रिय तहको बालश्रम अन्त्यको योजना, बालश्रम निबारण सम्बन्धी राष्ट्रिय गुरुयोजना, बाल विवाह अन्त्यको राष्ट्रिय रणनीति र बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका, बालमैत्री स्थानिय शासन घोषणा कार्यबिधी, बाल न्याय सम्पादन कार्यबिधी नियमावली, अनिबार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन र नियमाबलीहरु तथा अन्य नीतिहरू संघकै पहलमा लागू गरिएका छन् ।
२. प्रदेश सरकारको भूमिका
प्रदेश सरकारले संघीय नीतिलाई आफ्नो सन्दर्भ अनुसार कार्यान्वयन गर्ने, आवश्यकताको आधारमा प्रदेशस्तरीय ऐन र नियमावली ल्याउने कार्य गर्दछ । सोहि अनुसार बागमती प्रदेशले बालबालिका सम्बन्धी ऐन २०७६ समेत जारि गरेको पाईन्छ । प्रदेश सरकारले प्रादेशिक रुपमा बाल अधिकारको सुनिश्चितताको लागी अनुगमन गर्ने कार्य समेत गर्दछ । प्रदेश सरकारले बाल बालिका सम्बन्धी ऐन र नियमाबली अनुसार प्रदेशस्तरीय बाल अधिकार समिति गठन गरेको छ । बाल अस्पताल स्थापना गरि जोखिममा परेका बालबालिकाका लागि बालकोषको ब्यबस्था, पुर्नस्थापना केन्द्र समेत संचालन गर्न सक्दछ । यसरी प्रदेश सरकारले संघीय कानुन लाई स्थानीय तहसम्म पु¥याउने पुलको रूपमा कार्य गर्दछ ।
३. स्थानीय सरकारको भूमिका
स्थानिय सरकार जनताको नजिकको सरकार हो । छुदा छाम्न सकिने र हेर्दा देख्न सकिने सरकारको रुपमा स्थानिय सरकार रहेको हुन्छ । स्थानीय सरकारले प्रत्यक्ष रुपमा सामुदायिक तहमा बाल अधिकार सुनिश्चित गर्ने कार्य गर्दछ । जन्मदर्ता अनिवार्य गर्ने, विद्यालयमा भर्ना अभियान सञ्चालन गर्ने, बाल विवाह रोकथाममा प्रहरी र समुदायसँग सहकार्य गर्ने, बाल क्लब गठन र परिचालन गर्ने, खेलमैदान र पुस्तकालय निर्माण गर्ने जस्ता कार्यक्रम स्थानीय तहले सञ्चालन गर्ने गर्दछ । संविधान अनुसार स्थानीय सरकारलाई आधारभूत स्वास्थ्य, आधारभूत शिक्षा र बाल संरक्षण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । यसले बालबालिकासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने भएकाले यसको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । स्थानिय सरकार संचालन ऐनमा तोकिए बमोजिमको बाल अधिकारको सुनिश्चितता गर्नु स्थानिय सरकारको कर्तब्य हुन आउछ ।
नागरिक समाज संस्थाको भूमिका
बाल अधिकार सुनिश्चितताका लागी नागरिक समाज संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ । यसले सरकारको पुरकको रुपमा काम गर्ने गर्दछ । सरकारका संरचना तथा स्रोतसाधनको सीमितताका कारण बालबालिकाको अधिकार सुनिश्चित गर्न नसकिरहेको अबस्थामा सरकार संग सहकार्य गर्दै ति अधिकारको संरक्षण र सम्बर्धन गर्ने कार्यमा सघाउ पुराईरहेको हुन्छ । सचेतना र वकालतमा नागरिक समाज अगाडि छन् । बाल श्रम, बाल विवाह, बाल यौन दुब्र्यबहार र बाल हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, नीतिगत परिवर्तनका लागि दबाब सिर्जना गर्ने कार्य सस्थाहरूले गर्दै आईरहेका छन् । सेवा प्रवाहमा सहकार्य गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउने, विपन्न बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने, बालगृह वा आश्रयस्थल सञ्चालन गर्ने जस्ता काममा नागरिक समाज कृयाशिल रहेका छन् । अनुसन्धान र प्रतिवेदन मार्फत तथ्यमा आधारित पैरबी गर्ने काम नागरिक समाज संस्थाले गर्दै आएका छन । बाल सहभागिता प्रवद्र्धन गर्नमा सामाजिक संस्थाले अग्रणी भूमिका खेलेका छन् । बालभेला द्धारा योजना मागमा सहजिकरण, बाल क्लब गठन र परिचालन, बाल अधिकार दिवस जस्ता कार्यक्रम मार्फत बालबालिकाको आवाजलाई निर्णय प्रक्रियामा लैजाने प्रयास उनीहरूले गरिरहेका छन् ।
निष्कर्ष
बालबालिका राष्ट्रको भविष्य मात्र नभई वर्तमानका पनि सक्रिय नागरिक हुन् । उनीहरूको अधिकार सुनिश्चित गर्नु राष्ट्रको समृद्धि र स्थायित्वका लागि अनिवार्य हुन्छ । त्यसैले सरकार, नागरिक समाज, समुदाय र अभिभावक सबैले मिलेर बालबालिकाको अधिकार सुनिश्चित गर्न साझा जिम्मेवारी वहन गर्नु पर्दछ । जब बालबालिका सुरक्षित, शिक्षित, स्वस्थ र अधिकार सम्पन्न हुन्छन्, त्यतिबेला मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन्छ ।
नेपालमा बाल अधिकारको कानूनी र संस्थागत संरचना बलियो हुँदै गएको छ । तर व्यावहारिक कार्यान्वयनमा अझै धेरै चुनौतीहरू देखिएका छन । बाल विवाह, बाल श्रम, लैङ्गिक विभेद, शिक्षा र स्वास्थ्यमा असमान पहुँच जस्ता समस्याले बालबालिकाको अधिकारमा प्रत्यक्ष असर पारिरहेका छन् । यी चुनौतीहरू समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयकारी भूमिका, नागरिक समाज संस्थाको सक्रिय सहकार्य, र समुदायस्तरमा चेतनाको विकास अपरिहार्य हुन्छ ।

प्रकाश खतिवडा
अध्यक्ष
बाल कल्याण समाज मकबानपुर तथा सदस्य, प्रदेश बाल अधिकार समिती बागमती प्रदेश

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.