मकवानपुर। हेटौंडा–४ पारिजातपथमा रहेको क्लासिक पोशाक भित्र सधैं मेसिनको आवाज गुन्जिन्छ। त्यही आवाजसँगै चलिरहन्छ ३७ वर्षीया सम्झना तिमल्सिनाको संघर्ष, सीप र सफलता–जसले आज उनीलाई देशभर परिचित पारिदिएको छ। २० वर्षदेखि कपडा सिलाउने पेशामा लागेको यी महिला अहिले पुरुष कपडाका कुशल दर्जी मात्र बनेकी छैनन्, उनी धेरै युवाका लागि प्रेरणाको स्त्रोत पनि बनिरहेकी छिन्।
सम्झनाको जीवन १५ वर्षमै विवाहसँगै नयाँ मोडतिर मोडियो। विवाहपछि उनी पढाइ जारी राख्न सकिनन्। तर जीवनमा केही गर्नुपर्छ भन्ने दृढ चाहनाले उनलाई अहिलेसम्म डोर्याइरहेको छ।
विवाहपछिकै कठिन परिस्थितिमा उनले सिलाइ–कटाइ सिक्ने निर्णय गरिन्। पहिलो चरणमा ४ वर्ष महिलाका कपडा सिलाउन सिकिन्। यसपछि अर्को ठाउँमा पुरुषका कपडा मात्र सिलाउने काममा जोडिइन् र ७ वर्षसम्म निरन्तर अनुभव बटुलिन्।
सिलाइमा दखल बढाउँदै लग्दा उनले सिटिइभिटीबाट लेभल–३ उत्तीर्ण गरिन्। प्रशिक्षक र मुल्यांकनकर्ता दुवै भूमिकामा आफूलाई उभ्याउन सफल सम्झना अहिले कोट, पाइन्ट, सर्टदेखि दौरा–सुरुवाल र टाइसम्म पुरुषका सबै प्रकारका कपडा उत्कृष्ट फिनिसिङसहित तयार गर्छिन्।
उनी भन्छिन्,“पुरुषको कपडा अलि गाह्रो हुन्छ, तर आम्दानी राम्रो भएकै कारण म यहीतिर लागें। सुरुमा जति गाह्रो लाग्छ, सुरु गरेपछि सहजै हुँदै जान्छ।”
हेटौंडा–४ स्थित क्लासिक पोशाक सञ्चालन गर्दै आएकी सम्झनाले सिजनमा ८–१० लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछिन्।
कोट, पाइन्ट र सर्टको सम्पूर्ण सेट ६,५०० देखि १६,००० रुपैयाँसम्ममा उनले ग्राहकलाई उपलब्ध गराइरहेकी छन्।
कामको सर्वोत्तम फिनिसिङ र ग्राहकको मागअनुसारको डिजाइनका कारण उनको कामप्रति विश्वास दिन–प्रतिदिन बढिरहेको छ। बेसिजनमा समेत उनी निराश हुनुपरेको छैन।
सम्झनाले स्वदेशमै पसिना बगाइरहँदा उनका श्रीमान १४ वर्षदेखि विदेशमा काम गर्दै आएका थिए।
उनी भन्छिन्,“अहिले भने श्रीमानलाई पनि स्वदेशमै फर्केर यतै काममा हातेमालो गर्न भनेकी छु। १४ वर्षको दूरि अब नदोहो¥यौँ भन्ने छ।”
दुवै जनाले सँगै बसेर यही उद्यमलाई अझ विस्तार गर्ने योजना बनाइरहेका छन्। उनका दुई सन्तानमध्ये २० वर्षीय जेठो छोरालाई उनी पढाइका लागि युके पठाइसकेकी छन्।
निजी विद्यालयमा दुवै सन्तानलाई आफ्नो आय–आर्जनले पढाउँदै आएको सम्झना बताउँछिन्।
“बालबच्चाको मायाले विदेश जान सकिनँ। देशमै बसेर केही गर्छु भनेर लागेको यो यात्राले आज यस्तो बनायो,” उनी भन्छिन्।
कपडा सिलाउने काममै लाखौँ मुग्ध बनाउने उनको सीप टिकटक र सामाजिक सञ्जालमार्फत देशभर फैलिएको छ।
हेटौंडाबाट सुरु भएको उनको सीपले आज उनलाई राष्ट्रिय पहिचान दिलाइदिएको छ।
उनी भन्छिन्,“सबैको माया र प्रोत्साहनले अझै हौसला मिलिरहेको छ। समाजकै माया मेरो सफलताको आधार हो।”
सम्झना तिमल्सिनाको जीवन एउटा उदाहरण बनेको छ—पढाइ अधुरो भयो, उमेरै नपुग्दा विवाह भयो, श्रीमान विदेश, दुई सन्तानको जिम्मेवारी…।
तर यी सबैबीच पनि उनले आफ्नी चिनारी ‘उद्यमी महिला’को रूपमा स्थापना गरिन्।
आज उनी मकवानपुर मात्र होइन, देशकै सम्मानित महिला उद्यमीमध्ये एकका रूपमा चिनिन्छिन्।
सम्झनाको कथा—नेपाली महिलाको सामर्थ्य, साहस र सफलता–मार्गको जीवन्त प्रतिबिम्ब हो।
उनि भन्छिन्,“मलाई सबैले माया गर्नु भयो, साथ दिनुभयो—यही मेरो असली धन हो। अब यही काममै जीवन बिताउँछु।”











