हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दा बर्तौलाले १९ हजार ६२४ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो स्थानमा रहे। यस निर्वाचन क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ सालपछिका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा अन्य कम्युनिस्ट दलका उम्मेदवारहरू विजयी हुँदै आएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि एमालेका महेशकुमार बर्तौला निर्वाचित भएका थिए।
२५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सम्भावित सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। साथै, यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका थिए।
रास्वपाबाट टिकट पाएपछि उप्रेती मकवानपुर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। मकवानपुरका लागि अपेक्षाकृत नयाँ अनुहार भए पनि हेटौँडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ।










