हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलाले बगाएको एक युवकको शव तीन दिनपछि राप्ति खोलाको बगरमा फेला परेको छ।
मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय विनोद बम्जन कार्की खोलाको होमपाइपबाट तर्दै गर्दा पानीको बहाव अचानक बढेपछि बगाएका थिए। घटना २०८२ साल भदौ ६ गते अपरान्ह ३:३० बजेतिर भएको हो।
बम्जन सोही गाउँपालिका–७ सुकौरा तल्लो छापस्थित पसलबाट घर फर्किँदै थिए। खोलाले बगाएको सूचना प्राप्त भएलगत्तै स्थानीय प्रहरी टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो।
प्रहरीको प्रयासपछि बम्जनको शव भदौ ८ गते दिउँसो १:४० बजे मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान तथा मुचुल्का कार्य सम्पन्न गरी शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।
शव सनाखत मृतककी बहिनी सम्झना भोम्जनले गरेकी हुन्। उनले मृतकको बाँया कान सानो भएको शारीरिक विशेषता देखाएर पहिचान गराएको प्रहरी स्रोतले जनाएको छ।










