हेटौंडा । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको दुई दिने आयमूलक अचार बनाउने तालिम सम्पन्न भएको छ।
नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको प्रवर्द्धनमा आयोजित तालिममा २० जना महिलाको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक शर्मिला श्रेष्ठका अनुसार महिलालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममार्फत सहभागी महिलालाई अचार उत्पादनसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको श्रेष्ठले बताइन्।
समापन कार्यक्रममा प्रमुख अतिथि अप्सरा बस्नेतले महिलालाई स्वरोजगार बनाउन र आफ्नै सीपमा आत्मनिर्भर बन्न सिकाउने यस्ता तालिम महत्त्वपूर्ण रहेको बताइन्। उनले महिलाले पनि आफ्नै मेहनत र सीपबाट आम्दानी गर्न सक्छन् भन्ने विश्वासका साथ सरकारले यस्ता कार्यक्रममा लगानी गरिरहेको उल्लेख गरिन्।
नेपाल मानव अधिकार संगठन मकवानपुरका संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक सूचना श्रेष्ठ, बलराम अधिकारी, कार्यसमिति सचिव जया कोइराला, सचिव अपेक्षा बस्नेत, कोषाध्यक्ष तेजकुमारी थापा तथा राजेन्द्र अग्रवाललगायतको उपस्थिति रहेको थियो।











