हिउँदे अधिवेशन अन्त्यको सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति ११ः५९ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीलाई प्राथमिकता दिँदै हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्रि–बजेट छलफल सुरु गर्ने जनाएको छ । सरकारको सिफारिसपछि प्रदेश प्रमुखबाट अधिवेशन अन्त्यको औपचारिक घोषणा हुने संवैधानिक व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भए पनि लामो समयसम्म नियमावली नबन्दा कर्मचारी व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमा अन्योल देखिँदै आएको थियो । सरकारले अब उक्त प्रक्रिया टुङ्गो लगाएको जनाएको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेपलाञ्चोकस्थित स्वास्थ्य तालिम केन्द्रलाई हेटौँडामा स्थानान्तरण गर्ने निर्णय गरिएको छ । प्रदेशस्तरीय स्वास्थ्य सेवा तथा तालिम व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।

यसैबीच मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा वातावरण संरक्षण ऐन संशोधन विधेयकलाई प्रदेशसभामा पेश गर्नुअघि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्न बनेको विधेयक पनि थप अध्ययन तथा छलफलका लागि मन्त्रिपरिषद्को समितिमा पठाइएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.