हेटौंडा । लागू औषध कारोबार र सेवनमा संलग्न रहेका चार जनालाई मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ।
भदौ ५ गते बिहान ९:३० बजे हेटौंडा –३ लेवटस्थित शंकास्पद अवस्थामा बसिरहेका दिपेश सुनार २५ वर्ष र सुसान्त थोकर २६ वर्ष लाई प्रहरीले नियन्त्रणमा लिएको हो। खानतलासी गर्दा उनीहरूबाट खैरो हेरोइन जस्तो देखिने ६२० मिलिग्राम पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यस्तै, मिति २०८२ भदौ ४ गते राति ८:०० बजे अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको गस्ती टोलीले हेटौंडा–११ थानाभर्याङस्थित दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा लागू औषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३१ वर्षीय सञ्जय बि.क. र २४ वर्षीय किरण सुनार रहेका छन्। उनीहरूबाट ट्रामाडोल ९ क्याप्सुल, डाइजेपाम २३ एम्पुल र गाँजा २०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










